बिना पारिश्रमिक कामदार स्वदेश फर्कन बाध्य

बिना पारिश्रमिक कामदार स्वदेश फर्कन बाध्य

  • सोमवार, फाल्गुन २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

साउदी अरब, २४ फागुन ।

धन कमाउने सपना बोकेर रोजगारीका लागि साउदी अरब आएका २१ नेपाली कामदार खालीहात स्वदेश फर्कन बाध्य भएका छन् ।

रोजगारदाता कम्पनीले पारिश्रमिक नदिएपछि ती नेपाली कामदार खालीहात स्वदेश फर्कन बाध्य भएका हुन् । महिनौँदेखि पारिश्रमिक नदिएर बिचल्लीमा पारिएका नेपाली कामदारलाई पछिल्लो सातादेखि भने कम्पनीले स्वदेश फर्काउन थालेको हो । यसअघि स्वदेश फर्काउनसमेत आनाकानी गर्दैआएको कम्पनीले बिना पारिश्रमिक स्वदेश फर्काउन तयार भएको हो ।

रोजगारदाताले रकम भुक्तानी नगरिकनै पारिश्रमिक बुझेको कागजात गराएर स्वदेश फर्काउन तयार भएको पीडित नेपालीले बताएका छन् । दमामको टोयतास्थित अलसत्रायन कन्ट्र्याक्टिङ कम्पनीमा कार्यरत ती नेपाली कामदारले गतवर्षको जुलाईदेखि हालसम्मको गरी आठ महिनाको पारिश्रमिक पाएका छैनन् । उनीहरु काठमाडौँमा रहेको काइवे म्यानेजमेन्ट प्रालि, डिएचआर डेस्टेनीहुमन रिर्सोस र न्यू एसभी इन्टरनेसलनमार्फत् लाखाँैं रुपैयाँ तिरेर २२ महिनाअघि साउदी आएका थिए ।

“आठ महिनाको बाँकी पारिश्रमिक भुक्तानी लिएकोे हस्ताक्षर गराई बिना तलब स्वदेश फर्कन बाध्य पारिएको छ” पीडित कामदार जीवन मगरले भन्नुभयो । पारिश्रमिक नपाएर महिनौदेखि बिचल्लीमा पर्दासमेत कहिँ कतैबाट उद्धार हुन नसकेपछि स्वदेश फर्कनकै लागि हस्ताक्षर गरेको उहाँको भनाइ छ । बिचल्लीमा परेका २१ नेपालीमध्ये आइतबारसम्म १६ जना घर फर्किसकेका छन् । अन्य पाँच जना पनि फर्कने तयारीमा छन् ।

दूतावासले बेवास्ता गरेकै कारण आफू रित्तोहात स्वदेश फर्कनुपरेको शनिबार घर फर्केका रोल्पाका गङ्गा पुनले भन्नुभयो । दूतावासले पहल गरिदिएको खण्डमा भुक्तानी पाउनुपर्ने पारिश्रमिक पाउनसक्ने उहाँको आशा थियो । पारिश्रमिक नपाएको विषयमा तीन महिना अगाडि नै कामदारले नेपाली दूतावासलाई जानकारी गराएका थिए । तर दूतावासले चासो दिएन ।

कार्यबाहक राजदूत आनन्दप्रसाद शर्माले कामदारले पारिश्रमिक नपाएको बिषयमा आफूलाई जानकारी नभएको बताउनुभयो । “समस्याको विषयमा जानकारी लिने प्रयास गरिरहेको छु” उहाँले भन्नुभयो । स्वदेश फर्कनेमध्ये पाल्पाका बालप्रसाद विक र सुनसरीका राजेन्द्र पौडेललाई एमआरपी राहदानी नभएका कारण घर फर्कन समस्या भएको छ । घर र्फकनका लागि नेपाली कामदारले एमआरपी वा यात्रा अनुमतिपत्र बनाउनुपर्ने बाध्यता छ ।

तर कागजपत्र बनाउनका लागि रियादमा रहेको नेपाली दूतावाससम्म पुग्ने खर्च अभावका कारण समस्या भएको कामदारले बताएका छन् । “एमआरपी बनाउन पैसा छैन, खोइ कसरी स्वदेश फर्कने हो” पौडेलले भन्नुभयो । यसअघि पीडित नेपालीलाई स्वदेश फर्काउन समेत आनाकानी गर्दै आएको कम्पनीले हवाई टिकटको व्यवस्था गरी स्वदेश फर्कने व्यवस्था मिलाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी