साउदीमा २७७ नेपालीको मृत्यु

साउदीमा २७७ नेपालीको मृत्यु

  • बिहिबार, माघ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

साउदी अरब, १४ माघ ।

पछिल्लो समय नेपाली कामदारका लागि प्रमुख श्रम गन्तव्य बनेको साउदी अरबमा दैनिक सरदर एक नेपालीको मृत्यु हुने गरेको छ । रियादस्थित नेपाली दूतावासको तथ्याङ्कअनुसार साउदीमा दैनिक औसत एक नेपालीको मृत्यु हुने गरेको देखिएको हो ।

दूतावासका अनुसार सन् २०१५ मा वैदेशिक रोजगारीका लागि साउदी अरब आएका २७७ नेपालीले विभिन्न कारणले ज्यान गुमाएका छन् । यसमा प्राकृतिक मृत्यु बढी देखिएकोे छ । दूतावासले दिएको यो तथ्याङ्क अघिल्लो वर्ष २०१४ को तुलनामा ४८ जनाले बढी हो । सन् २०१४ मा २२९ नेपालीले विभिन्न कारणले ज्यान गुमाएका थिए ।

सन् २०१५ मा ज्यान गुमाएकामध्ये सबैभन्दा बढी १४८ जनाको प्राकृतिक मृत्यु भएको थियो । यसमा हृदयाघात, मस्तिष्क पक्षाघात, ओछ्यानमै ज्यान जानेलगायत कारण रहेका छन् ।

यस्तै, सडक दुर्घटनाका कारण ज्यान गुमाउने नेपालीको सङ्ख्या पनि कम छैन । त्रिहत्तर जनाको सडक दुर्घटनामा परी ज्यान गएको छ भने ३२ को कार्यस्थलमै दुर्घटनामा परी मृत्यु भएको तथ्याङ्कले देखाएको छ । त्यस्तै २१ जनाले आत्महत्या गरेका छन् । तीन नेपालीको विदेशी नागरिकबाट हत्या भएको दूतावासले जनाएको छ ।

ओछ्यानमै ज्यान जाने, हृदयाघात, मस्तिष्क पक्षाघातलगायत कारण बढी मात्रामा नेपालीको मृत्यु हुने गरेको पाइएको साउदीका लागि कावा राजदूत आनन्दप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार कामको प्रकृतिअनुसार सुरक्षा सर्तकता नअपनाउनु, खानपानमा ध्यान नदिनु, अत्यधिक मदिरापान गर्नु, वातावरणीय प्रतिकूलता, चेतनाको अभाव र सुरक्षा सर्तकता अपनाउन नसक्दा नेपाली कामदारको मृत्युदर बढेको हो ।

साउदीमा एकातिर नेपाली कामदारको मृत्युदर बढ्दो छ, भने अर्कोतर्फ मृत्यु भएका नेपालीको शव फिर्ता पठाउनसमेत महिनौँ लाग्ने समस्या रहेको छ । रोजगारदाताको बेवास्ता र यहाँको झन्झटिलो कानुनी प्रक्रियाका कारण ज्यान गुमाएका नेपालीको शव स्वदेश पठाउन ढिलाइ हुने गरेको बुझिएको छ ।

कावा राजदूत शर्माका अनुसार साउदीबाट कानुनी प्रक्रिया पूरा गरी शव फिर्ता पठाउन न्यूनतम तीन महिना लाग्ने भएका कारण शव पठाउन ढिलाइ हुने गरेको हो ।

दिन प्रतिदिन बढिरहेको नेपाली कामदारको मृत्युदर घटाउन सुरक्षा सर्तकता र सचेतना बढाउनुपर्ने देखिन्छ । त्यसैगरी ज्यान गुमाएका नेपालीको शव स्वदेश पठाउन हुने ढिलाइमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

साउदी अरबमा करिब पाँच लाख नेपालीहरु कार्यरत रहेको दूतावासले जनाएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी