काठमाडौं, २७ पौष ।
कुवेतले गैरकानुनी रुपमा कार्यरत विदेशी कामदारलाई आममाफी दिने भएको छ ।
कुवेतमा गैरकानुनी रुपमा कार्यरत विदेशी कामदारलाई त्यहाँको सरकारले आममाफीको घोषणा गरेको हो । सरकारको निर्णयअनुसार अब कुवेतमा कार्यरत विदेशी कामदारले जरिवाना तिरेर स्वदेश फर्किन वा कुवेतमै वैध भएर काम गर्न सक्ने भएका छन् ।
गम्भीर प्रकृतिका अपराधमा संलग्न भई कानूनी प्रक्रिया चलिरहेका बाहेक तोकिएको मितिभन्दा धेरै समय बसेका वा भागेर अवैधानिक भएका सबै कामदार यो प्रक्रियामा सामेल हुन पाउनेछन् ।
यसका लागि कामदार आफै आममाफी प्रकृयामा सामेल हुनुपर्ने छ । आममाफीसँगै सरकारले धरपकड पनि जारी राख्ने भन्दै मन्त्रालयले यो प्रकृयामा समातिएका कामदारलाई भने फरक व्यवहार हुने बताएको छ ।
अवैधानिक कामदारले सम्बन्धित कार्यालयमा गएर आफै जानकारी गराउनुपर्ने र सरकारी अधिकारीले उसको अवस्था हेरी कति जरिवाना तिर्ने र कति दिनमा घर फर्किने भन्ने जानकारी दिनेछन् ।
कुवेतमा ८० हजार भन्दा बढि नेपाली कामदार कार्यरत छन् । सरकारी निर्णयबाट अवैधानिक भएका नेपाली कामदारलाई पनि सहज हुने देखिएको छ ।