साउदी अरबमा एक सय नेपाली अलपत्र

साउदी अरबमा एक सय नेपाली अलपत्र

  • आइतवार, अशोज २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

साउदी अरब, २४ असोज ।

खाडी मुलुक जाने कामदारका लागि सरकारले ‘फ्रि भिसा, फ्रि टिकट’ लागू भएको बताइरहँदा लाखौँ रकम तिरेर साउदी अरब आएका करिब १०० नेपाली बिचल्लीमा परेका छन् ।

धन कमाउने मिठो सपना बोकेर रोजगारीका लागि साउदी आएका ती नेपालीले डेढ महिनादेखि काम पाउन नसकेपछि बिचल्लीमा परेका हुन् ।

उनीहरु काठमाडौँमा रहेको गोल्डेन इगल मेनपावर, सस मेनपावर र एडभेन्चर ह्युमन रिसोर्सेस गरी तीन छुट्टाछुट्टै मेनपावरमार्फत वैदेशिक रोजगारी सिलसिलामा साउदी आइपुगेका हुन् । दुई वर्षे करार सम्झौतामा अल जजीरा सर्पोट सर्भिस् कम्पनीमा कामदारका रुपमा आएका उनीहरुले अहिलेसम्म काम पाउन सकेका छैनन् । गत सेप्टेम्बरको १ र २ तारिखमा विभिन्न समूहमा गरी साउदी आएका उनीहरु हराजस्थित दुई वटा शिविरमा आश्रय लिएर बसिरहेका छन् ।

एक हजार २०० साउदी रियल तलब पाउने गरी सस मेनपावरमार्फत उक्त कम्पनीमा आएका दार्चुलाका वीरसिंह समालले आफू नराम्रोसँग ठगिएको दुखेसो गरे ।

मेनपावर कम्पनीले राम्रो कमाइ हुने प्रलोभन दिएर आफूसँग एक लाख हजार रुपैयाँ लिएको उहाँले बताउनुभयो । “ऋण काढेर विदेश आइयो, यहाँ धन कमाउने त कता हो कता खाने बस्नेसम्म टुङ्गो छैन,” समालले भन्नुभयो – “आएको दिनदेखि नै चिसो भुर्इंमा सुतेका छौँ ।” पीडित समालका अनुसार कम्पनीले खानाका लागि २०० साउदी रियलबाहेक अहिलेसम्म केही दिएको छैन ।

समालसँगै आएका उदयपुरका रुद्र राउतले गोल्डेन ईगल मेनपावरलाई एक लाख पाँच हजार बुझाएर उक्त कम्पनीमा आएको बताउनुभयो । आफूसँगै उक्त शिविरमा रहेका १०० नेपालीले अहिलेसम्म काम नपाएको जानकारी राउतले दिनुभयो ।

गोल्डेन ईगल मेनपावरमार्फत नै साउदी अरब आइपुग्नुभएका उदयपुरका प्रदीप राउतले डेढ महिना खाली हात बस्नुपर्दा घरपरिवार समेत तनावमा रहेको बताउनुभयो । उहाँका अनुसार मासिक एक हजार २०० रियल कमाइ हुन्छ भनेर मेनपावर कम्पनीले रु ७० हजार लिएको थियो ।

उहाँले भन्नुभयो – “काम लगाउने विषयमा कम्पनीले चासो नदिएपछि काठमाडौँमा रहेको मेनपावर कम्पनीलाई पटकपटक फोन ग¥यौं । फोन गर्दा केही दिनमै काम मिल्छ भन्ने आश्वासन पाउँछौँ तर आजसम्म काम पाएको छैन ।” आजभोलि मेनपावर कम्पनीलाई फोन गर्दा फोन नउठ्ने गरेको उहाँको दुखेसो छ ।

शिविरमा एउटा कोठामा ८–९ जना सम्म कोच्चिएर बस्न बाध्य छन् । पिउने पानीको व्यवस्था नभएर केही नेपाली कामदार बिरामी परेको बताइएको छ । राउतका अनुसार कम्पनीले काममा लगाउन नसक्दा केही नेपाली कामदार कामको खोजीमा कम्पनी छाडेर भागेका छन् ।

यस्तै, सस मेनपावरमार्फत रु ९० हजार बुझाएर सो कम्पनीमा कामदारका रुपमा आएका सिन्धुलीका सूर्य लामाले मेनपावर कम्पनीले आफूहरुलाई विदेशी भूमिमा अलपत्र पारेको बताउनुभयो । कमाइ हुन नसक्दा घरपरिवारलाई फोन गर्नसमेत नपाएको उहाँले गुनासो गर्नुभयो ।

एडभेन्चर ह्युमन रिसोर्सेसमार्फत साउदी आइपुगेका महोत्तरीका भरत यादवले डेढ महिनादेखि काम गर्न नपाउँदा आफूहरु निकै पीडित बनेको बताउनुभयो । मेनपावर कम्पनीले आफूसँग रु ९० हजार लिएर पठाएको भए पनि अहिलेसम्म काममा लगाउन नसकेको यादवले सुनाउनुभयो ।

तेह्रथुमका हजिन्द्रबहादुर कार्कीको पीडा पनि उस्तै छ । काम नपाएर आफूहरु बिचल्ली पर्दा पनि हारगुहारका लागि कसैसँग सम्पर्क गर्न नसकेको उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी