एनआरएन सचिवमा साउदीबाट केसीको उम्मेदवारी

एनआरएन सचिवमा साउदीबाट केसीको उम्मेदवारी

  • बुधबार, अशोज ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

साउदी अरब, ६ असोज ।

गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिव पदमा वर्तमान आइसिसी सल्लाहकार धरम केसीले साउदी अरबबाट उम्मेदवारी घोषणा गर्नुभएको छ ।

सङ्घको आगामी अक्टोबरमा हुने सातौँ अन्तर्राष्ट्रिय महाधिवेशनमा २०१५—०१७ को कार्यकालका लागि केसीले पाँच बुँदे प्रतिबद्धतासहित सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो ।

विगत लामो समयदेखि एनआरएनमा आबद्ध रहनुभएका केसीले मङ्गलबार दमाममा आयोजित घोषणा कार्यक्रममा आफ्नो उम्मेदवारी घोषणा गर्दै एनआरएनलाई पुँजीपति र धनाढ्य वर्गको मात्र संस्था नभएर विशुद्ध श्रमिकको संस्था बनाउने उद्घोष गर्नुभयो ।

युरोप र अमेरिकाको नेतृत्वले खाडी मुलुकका श्रमिकको समस्या सम्बोधन गर्न नसक्ने ठहर गर्दै खाडी तथा मलेसियाका श्रमिकको समस्या समाधानका लागि सो क्षेत्रको साझा प्रतिनिधित्व गर्दै आफूले सचिवालय भित्रै रहेर काम गर्नेगरी उम्मेदवारी घोषणा गरेको बताउनुभयो । आफ्नो उम्मेदवारीसँगै आगामी विश्व सम्मेलनले खाडीमा रहेका प्रवासी नेपाली एनआरएन भए नभएको समेत स्पष्ट पार्ने केसीले बताउनुभयो ।

वैदेशिक रोजगारीलाई व्यवस्थित एवम् सुरक्षित बनाउँदै श्रमिकका हकहित, सेवासुविधा, र सुरक्षाको सुनिश्चितताका लागि खाडी मुलुकबाट आफ्नो उम्मेदवारी रहेको केसीको भनाइ छ । उहाँले वैदेशिक रोजगार ऐनको संशोधन तथा वैदेशिक रोजगार निर्देशक समितिमा एनआरएनको प्रतिनिधित्वका लागि पहल गर्ने पनि बताउनुभएको छ ।

एनआरएनको सचिवालयमा कानुनविद् श्रम सहचारीको व्यवस्था गर्ने, दूतावासको जनशक्ति, साधनस्रोत बढाउने, एनआरएन डेस्कलाई कार्यान्वयनमा ल्याउने, आपत्कालीन सेवाका लागि हटलाइनको व्यवस्थाको पहल गर्ने, बिमा र क्षतिपूर्ति रकममा वृद्धि गर्ने, कामदार फर्केपछिको पेन्सन तथा सामाजिक सुरक्षा कोषको व्यवस्था गर्न पहल गर्ने, घरेलु महिला कामदारलाई सुरक्षित रोजगारीको व्यवस्थाका लागि पहल गर्नेे, पासपोर्ट र श्रम स्वीकृति छिटो छरितो र सहज बनाउनेलगायतका मूलभूत योजना केसीले अघि सार्नुभएको छ ।

यस्तै, विदेशमा सिकेको सीप, प्रविधि र अनुभवको समेत सदुपयोग गर्नका लागि ‘स्वदेश फर्क एनआरएन’ प्याकेज तथा परियोजनालाई अभियानका रुपमा पहल गर्न केसीले प्रतिबद्धता जनाउनुभएको छ ।

सबै प्रवासी नेपालीलाई विदेशबाटै मतदानको अधिकार, कामदारले आफ्नो पासपोर्ट आफँै राख्न पाउने अधिकार स्थापित गर्नका लागि आफू प्रतिबद्ध रहेको केसीले बताउनुभयो ।

उहाँले भूकम्पपीडित एनआरएन सदस्यका लागि एक हजार घरको पुनर्वास कार्यक्रम सम्पन्न गर्ने कार्ययोजनासमेत सार्वजनिक गर्नुभएको छ । केसी एनसिसी साउदी अरबको संस्थापक, महासचिव, दुई कार्यकाल अध्यक्ष र प्रमुख सल्लाहकार हुँदै हाल आइसिसी सल्लाहकारको भूमिकामा रहनुभएको छ ।

प्रवासी नेपाली श्रमिकको सचेतक, सहजकर्ता, स्वयम्सेवक, उद्धारकर्ता एवम् सहयोगीका रुपमा आफ्नो पहिचान बनाउन सफल हुनुभएका केसी २०१४ मा उत्कृष्ट एनआरएन घोषितसमेत हुनुभएको थियो ।रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी