भूकम्पपीडित विद्यार्थीलाई जापानबाट ‘गेन्की मेल’

भूकम्पपीडित विद्यार्थीलाई जापानबाट ‘गेन्की मेल’

  • शनिबार, भदौ २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौँ, २५ भदौ । आफ्नो मुलुकमा पनि प्राकृतिक विपत्तिका बेला भोग्नुपरेका पीडाको स्मरणसहित जापानी विद्यार्थीले भूकम्पपीडित नेपाली विद्यार्थीलाई मनो–सामाजिक उपहारस्वरुप ‘खुसीको सन्देश’ दिएका छन् ।

जापानी भाषामा ‘गेन्की मेल’ अर्थात् खुसीको सन्देश लिएर जापानी स्वयम्सेवी संस्था एसिया अफ्रिका को–अपरेसन इनभाइरोनमेन्ट सेन्टर (आसेक) का स्वयम्सेवक यहाँका भूकम्प प्रभावित विद्यालयका बालबालिकामाझ पुगेका छन् ।

प्राकृतिक विपत्तिपछि समाजमा पर्ने मनोवैज्ञानिक तथा सामाजिक असरबाट राहत दिलाउन आसेकका अध्यक्ष उरितानी युकिताकाको नेतृत्वमा गत साता ती स्वयम्सेवक नेपाल आएका थिए । टोलीलाई नेपालमा सामुदायिक विद्यालय भवन निर्माणमा सहयोग गरिरहेको संस्था एसिया फ्रेन्डसिप नेटवर्क (एएफएन) ले विद्यालयमा संयोजन गरिरहेको छ ।

अध्यक्ष उकिताकासहित, आसेकबाट इकेदा दाइसुके, इकेवे मिहोकोको तीन सदस्यीय टोली नेपाल आएको हो । उरितानीले २० वर्षअघि आफू जापानमा आएको भूकम्पमा दुई घण्टा पुरिएको स्मरण सुनाउँदै घर र सम्पत्ति गुमाएर बल्लबल्ल बाँचे पनि साथीहरुको सहयोग मिलेकाले अब आफूहरु त्यस्तै दुःखमा परेकालाई सघाउन लागिपरेको बताउनुभयो । उहाँले आफ्नी आमालाई बचाउन खोज्दा आफू घाइते भए पनि बाँच्न सफल भएको स्मरण गर्दै अबको जीवन विपतमा परेकालाई सघाउन बिताउने उद्घोष गर्नुभयो ।

जापान र मङ्गोलियाका प्राथमिक तहका विद्यार्थीहरुले लेखेर पठाएका करिब छ सय सन्देश सिन्धुपाल्चोक जिल्लाको कुन्चोक गाविसस्थित महेन्द्र मावि, सरस्वती प्राविका विद्यार्थीलाई सन्देश दिँदा त्यहाँका विद्यार्थीले खुशीका साथ स्वागत गरेका थिए । उनीहरुले पोस्टर र कार्डमा लेखिएका ती सन्देश कक्षाकोठामा भित्ता र घरमा पनि लगेर सजाउने गरेका छन् ।

यस्तै काभ्रेपलाञ्चोक र भक्तपुरका विद्यालयमा ती सन्देश र शैक्षिक सामग्री बाँडिएको थियो । खुसीको सन्देशमा ‘नआत्तिनु ! हामी पनि साथमा छौँ, (प्रे फर नेपाल, वि लभ नेपाल), हामी पनि तपाईंलाई भेट्न आउँछौँ’ लगायतका सन्देश र चित्र कोरिएका थिए ।

भौतिक सहयोग त सबैले गर्छन् तर मानसिक सहयोग सबै गुमाएर निरास भएको बेला हौसला दिनु भनेको बाँच्ने आधार बन्छ पीडितका लागि । कोही त छ सहयोग गर्ने भन्ने आडमात्र पाउँदा पनि धेरै हदसम्म खुसी मिल्छ, जुन खुसी पैसाले किन्न सकिँदैन भन्ने भावनाका साथ जापानी विद्यार्थीलाई आसेकले सन्देश तयार गर्न लगाएको हो । ती विद्यार्थीले ‘हामी पनि साथमा छौँ नआत्तिनु, खुसी हुनु, हामी नेपालका लागि प्रार्थना गरिरहेका छौँ’ जस्ता सन्देश लेखेर पठाएका थिए । टोलीले सबैभन्दा सिन्धुपाल्चोकका क्षतिग्रस्त विद्यालय र अस्थायी सिकाइ केन्द्रमा पुगेर विद्यार्थी र शिक्षकलाई उत्साह थपेको एएफएन जापानका दक्षिण एसिया प्रतिनिधि गणेशमान लामाले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी