काठमाडौ, १६ असार ।
नेपाल–क्यानडा मैत्री तथा साँस्कृतिक संघले क्यानडा भौगोलिक रुपमा टाढा
भएपनि दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध रहेको बताएको छ । संघले काठमाडौमा
क्यानडाको राष्ट्रिय दिवशका अवसरमा अन्तरक्रिया गर्दा उक्त कुरा बताएको
हो ।
वाणिज्य तथा आर्पुती मन्त्री सुनिलबहादुर थापाले नेपालमा भुकम्प गएको
बेला क्यानडाका श्रममन्त्री नेपाल आएर गरेको सहयोग र प्रतिबद्धता
उच्चस्तरको रहेको बताए । ‘यसका साथै क्यानडाले शान्ति प्रक्रिया र
संविधान निर्माणमा सघाएको छ’ उनले भने ।
सोही अवसरमा उनले प्रधान सम्पादक प्रा.डा. श्रीधर गौतम र सम्पादकहरु
खड्गबहादुर थापा, निलकण्ठ तिवारी र दीपेन्द्र रोकायाद्धारा सम्पादित
संघको मुखपत्र ‘न्युजलेटर’ को लोकापर्ण गरे । दौत्य सम्बन्ध युगभन्दा
सद्भावले जोडिने बताउँदै मन्त्री थापाले भने, ‘दुई देशबीचको सम्बन्ध
बढाएर नेपालको हित बढाउन यस्ता मैत्री तथा साँस्कृतिक संघको विशेष महत्व
रहन्छ ।’
क्यानडाका पूर्व राजदुत भोजराज घिमिरेले क्यानडाको नेपालप्रति प्रेम
रहेको र उनीहरु पर्वतारोहरणका लागि बढी आर्कषित भएको दावी गरे । उनको
भनाई थियो, ‘नेपाल भ्रमणमा अमेरिकीभन्दा बढी क्यानेडाली आउने गरेका छन्,
नेपालीहरुले यो तथ्य बुझ्न जरुरी छ ।’ उनको अनुभवमा क्यानडामा आज र भोली
सुन्तलामय रंगले रंगिन्छ ।
नेपालका लागि क्यानडाका कन्सुलर डा. बुद्ध बस्नेतले क्यानडाले नेपाललाई
४० वर्षमा ४ सय सत्तरी मिलियन डलर सहयोग गरेको जानकारी दिए । उनको
विचारमा नेपाल र क्यानडाका जल उद्यमीहरु मिल्न सकेमा नेपाललाई उज्यालो
बनाउन सहयोग हुनेछ ।
नेपाल कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले पहिले नेपालको सामान अमेरिका
भएर क्यानडा पुगेपनि अहिले क्यानडा सरकारको विशेष सहुलियतमा सिधै जान
थालेको उल्लेख गरे । उनले यस्तै सम्बन्ध ब्यापारका क्षेत्रमा अझ बढाउन
आवश्यक रहेको महसुस गरेको बताए ।
संघका अध्यक्ष हिरण्यलाल श्रेष्ठले क्यानडाको सरकार, जनता र
शुभचिन्तकहरुप्रति बधाई तथा शुभकामना दिए । हिजो सहायताको जमाना भएको र
अहिले ब्यापार, पर्यटन तथा लगानीको जमाना आएको बताउँदै उनले भने,
‘नेपाल–क्यानडाको सम्बन्ध उच्च स्तरमा बढाउन क्यानडाको राजदुतावास
नेपालमा खोल्नु पर्दछ ।’