लैङ्गिक हिंसामुक्त समाज निर्माणमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक छ : प्रधानमन्त्री शाह

लैङ्गिक हिंसामुक्त समाज निर्माणमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक छ : प्रधानमन्त्री शाह

  • बुधबार, मंसिर ९, २०८३
  • मिर्मिरे अनलाइन

  • 437
    SHARES

९ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता गर्न सबै पक्षलाई आह्वान गरेका छन् ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको प्रारम्भका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले लैङ्गिक हिंसा मानवअधिकारको गम्भीर उल्लङ्घन तथा समतामूलक समाज निर्माणको प्रमुख चुनौती भएको बताएका छन् ।

उनले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय हिंसाबाट बढी प्रभावित भइरहेको उल्लेख गर्दै बदलिँदो परिवेशमा डिजिटल माध्यमबाट हुने हिंसासमेत थप चुनौतीका रूपमा देखिएको बताए ।

संविधानको मर्मअनुरूप समानता, सामाजिक न्याय र समावेशितालाई व्यवहारमा रूपान्तरण गर्न सबै प्रकारका हिंसाको रोकथाम, पीडितको संरक्षण, न्यायमा पहुँच र दोषीलाई कानुनी कारबाही सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए ।

प्रधानमन्त्री शाहले लैङ्गिक हिंसा अन्त्यका लागि कानुनी तथा संस्थागत व्यवस्था सुदृढीकरण, महिलाको सशक्तीकरण, बालिका शिक्षाको प्रवर्द्धन तथा पीडितको संरक्षण र पुन:स्थापनालाई सरकारले प्राथमिकता दिएको बताए । यी प्रयासलाई प्रभावकारी बनाउन कानुनको कार्यान्वयन, सामाजिक चेतना, संस्थागत जवाफदेहिता तथा तीनै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ ।

यसै वर्ष भदौ महिनामा भोटेकोशी क्षेत्रमा गएको बाढीले पुर्याएको क्षतिको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री शाहले विपद्का समयमा लैङ्गिक हिंसाको जोखिम बढ्न सक्नेतर्फ विशेष सचेत रहनसमेत आग्रह गरे ।

अभियानलाई सफल बनाउन राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घसंस्था, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम, राजनीतिक दल, अभियन्ता र आमनागरिकको सक्रिय सहभागिता तथा ऐक्यबद्धताका लागि उनले आह्वान गरे ।

प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन हुने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान यस वर्ष पनि आजदेखि सुरु भएको हो ।

संयुक्त राष्ट्रसङ्घले यस वर्ष ‘महिला तथा बालिकाविरुद्धको हिंसा अन्त्यका लागि एकजुट होऔँ: न्याय सुनिश्चित गरौँ, पीडितको संरक्षण गरौँ र दण्डहीनताको अन्त्य गरौँ’ भन्ने अन्तरराष्ट्रिय नाराका साथ अभियान सञ्चालन गर्न आह्वान गरेको छ । नेपालमा ‘ लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता: पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नारासहित अभियान सञ्चालन हुँदैछ ।

प्रधानमन्त्री शाहले अभियानअन्तर्गत सञ्चालन हुने विविध कार्यक्रमले लैङ्गिक हिंसामुक्त, न्यायपूर्ण र समतामूलक समाज निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुहुँदै अभियानको सफलताको कामना गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ