काठमाडौं, बिहीबार – नेपाली कांग्रेसले होल्डिङ सेन्टर खाली गराउने सरकारी निर्णय तत्काल फिर्ता लिन माग गरेको छ। बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले विस्थापित हुने परिवारको सुरक्षित, सम्मानजनक र दिगो पुनर्वास सुनिश्चित गर्न पनि सरकारसँग जोडदार माग गरेको हो। काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई जिल्ला प्रशासन कार्यालय, भक्तपुरले मंसिर ११ गतेसम्म खाली गर्न सूचना जारी गरेपछि कांग्रेसले गम्भीर ध्यानाकर्षण गराएको हो। ‘भूमिहीन तथा अव्यवस्थित बसोबासी नागरिकको समस्या दमन र विस्थापनबाट होइन, न्यायपूर्ण, मानवीय र दीर्घकालीन समाधानबाट सम्बोधन गरिनुपर्छ,’ कांग्रेसले भनेको छ।
बैठकले होल्डिङ सेन्टरको समन्वय र सहजीकरणका लागि केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा समिति गठन गरेको छ, जसमा मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य छन्। चार दिनदेखि जारी बैठकमा ७० जना केन्द्रीय सदस्यले मन्तव्य राखिसकेका छन् भने अर्को बैठक शुक्रबार बिहान साढे ८ बजे बस्ने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।