फोहोरबाट ऊर्जा परियोजना पुनःस्थापना, परीक्षण सञ्चालनपछि हस्तान्तरण

फोहोरबाट ऊर्जा परियोजना पुनःस्थापना, परीक्षण सञ्चालनपछि हस्तान्तरण

  • बिहिबार, मंसिर १०, २०८३
  • मिर्मिरे अनलाइन

  • 38
    SHARES

काठमाडौँ, १० मङ्सिरः काठमाडौँ महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहकार्यमा काठमाडौँको टेकुस्थित बन्द अवस्थामा रहेको फोहोरबाट ऊर्जा परियोजनाको पुनःस्थापना गरी परीक्षण सञ्चालन तथा हस्तान्तरण गरिएको छ ।

युरोपेली सङ्घको सहयोगमा सन् २०१७ मा स्थापना गरिएको उक्त परियोजना बन्द अवस्थामा रहेकामा महानगरपालिका र केन्द्रबीच गत साउन १८ गते भएको समझदारीअनुसार पुनर्निर्माण सम्पन्न गरी आज परीक्षण सञ्चालन तथा हस्तान्तरण गरिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा परियोजनाको परीक्षण सञ्चालन तथा हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा मन्त्री श्रेष्ठले फोहोरबाट ऊर्जा परियोजना सहरी फोहोर व्यवस्थापनलाई ऊर्जासँग जोड्ने, स्थानीय स्रोतको सदुपयोग गर्ने, नागरिकलाई स्वच्छ तथा किफायती ऊर्जा उपलब्ध गराउने र स्वच्छ वातावरणमा बस्न पाउने अधिकार सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण कदम भएको बताउनुभयो ।

नेपालले हरेक वर्ष एलपी ग्यासलगायत पेट्रोलियम पदार्थ आयातमा ठूलो रकम खर्च गरिरहेको अवस्थामा देशभित्र उपलब्ध जैविक स्रोतबाट ऊर्जा उत्पादन गर्नु आर्थिक, वातावरणीय र ऊर्जा सुरक्षाका दृष्टिले महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।

ऊर्जा विकासको सोच जलविद्युत् उत्पादनमा मात्रै सीमित नराखी सौर्य ऊर्जा, बायोग्यास, फोहोरबाट ऊर्जा तथा अन्य नवीकरणीय ऊर्जा स्रोतको विकास र उपयोगमा पनि जोड दिनुपर्ने मन्त्री श्रेष्ठले बताउनुभयो । ऊर्जा मिश्रण विविधीकरण गरी स्थानीयस्तरमा उपलब्ध स्रोतको उपयोग गर्न सके दिगो र भरपर्दो ऊर्जा प्रणाली निर्माण गर्न सकिने उहाँले उल्लेख गर्नुभयो ।

मन्त्री श्रेष्ठले नियुक्त भएदेखि नै बन्द अवस्थामा रहेको टेकुस्थित उक्त परियोजना पुनः सञ्चालनमा ल्याई नमूना परियोजनाका रूपमा दिगो सञ्चालन गर्न चासो व्यक्त गर्दै केन्द्रलाई आवश्यक कार्य अघि बढाउन निर्देशन दिनुभएको थियो ।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले परियोजनाको काम निर्धारित समयमै सम्पन्न भएकामा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि महानगरपालिका र केन्द्रबीच यस्ता परियोजनामा सहकार्य जारी राख्न महानगरपालिका इच्छुक रहेको बताउनुभयो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले परियोजना निर्धारित समयमै सम्पन्न गरी हस्तान्तरण गरिएको बताउँदै यस कार्यमा सहयोग गर्ने महानगरपालिका, विश्व बैङ्क तथा प्लान्टको आपूर्तिकर्ता एवं जडानकर्ता कम्पनी जेवन वेष्ट म्यानेजर प्रालिलगायत सरोकारवाला निकायलाई धन्यवाद दिनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता आयोजनामा केन्द्र र महानगरपालिकाबीच सहकार्यलाई निरन्तरता दिइने बताउनुभयो ।

सन् २०१४ देखि विश्व बैङ्कको सहयोगमा सञ्चालन भएको ‘नवीकरणीय ऊर्जा विस्तार कार्यक्रम–विस्तारित बायोग्यास आयोजना’ अन्तर्गत नगरपालिकाको फोहोरबाट ऊर्जा परियोजना तथा ठूला क्षमताका व्यावसायिक बायोग्यास प्लान्ट निर्माणमा सहयोग गर्न थालिएको थियो । हाल उक्त कार्यक्रम विश्व बैङ्कको मिनी ग्रिड ऊर्जा पहुँच कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेको छ ।

कार्यक्रमअन्तर्गत सातवटा नगरपालिकामा फोहोरबाट ऊर्जा परियोजना कार्यान्वयन भएका छन् भने २० भन्दा बढी ठूला क्षमताका व्यावसायिक बायोग्यास परियोजनालाई सहयोग उपलब्ध गराइएको छ ।

केन्द्रले देशभर नगर फोहोरबाट ऊर्जा परियोजना तथा व्यावसायिक क्षेत्रमा बायोग्यास उत्पादनको सम्भाव्यता अध्ययन गरेको छ । साथै, ४८ मिलियन अमेरिकी डलर बराबरको परियोजना प्रस्ताव हरित जलवायु कोषमा पेस गरी स्वीकृतिको प्रक्रियामा रहेको छ ।

पेरिस सम्झौताको दफा ६.२ अन्तर्गत फोहोरबाट ऊर्जामा आधारित कार्बन परियोजना विकासको काम पनि केन्द्रले अघि बढाएको छ ।

फोहोरबाट ऊर्जा प्लान्टको विकासले सहरी क्षेत्रमा प्रमुख समस्याका रूपमा रहेको कुहिने फोहोर व्यवस्थापनमा योगदान पु¥याउनाका साथै बायोग्यास र जैविक मल उत्पादनमार्फत चक्रीय अर्थतन्त्र प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ