काठमाडौँ, १० मङ्सिर । स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने उद्देश्यसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रियालाई अघि बढाएको छ।
यसैक्रममा बिहीबार स्वास्थ्यमन्त्री निशा मेहताको नेतृत्वमा मन्त्रालयमा स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष तथा सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूसँग गहन छलफल सम्पन्न भएको छ। मन्त्रीको सचिवालयका अनुसार यसअघि पनि मन्त्री मेहताको नेतृत्वमा सम्बन्धित निकाय तथा सरोकारवालाहरूसँग चरणबद्ध रूपमा छलफल हुँदै आएको थियो।
मन्त्रालयले आवश्यक छलफल तथा गृहकार्य पूरा गरी स्वास्थ्य बीमा ऐन संशोधनसम्बन्धी विधेयक तयार गरेर कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको छ। आवश्यक कानुनी प्रक्रिया र परामर्श पूरा गरी उक्त विधेयकलाई छिट्टै संघीय संसद्मा दर्ता गर्ने तयारी भइरहेको मन्त्रीको सचिवालयले जानकारी दिएको छ।
प्रस्तावित संशोधन विधेयकमा स्वास्थ्य बीमा कार्यक्रमलाई सर्वसुलभ र दिगो बनाउन विभिन्न महत्त्वपूर्ण विषयहरू समेटिएका छन्। जसअन्तर्गत बीमाको योगदान सङ्कलन र सेवा भुक्तानी प्रणालीलाई थप व्यवस्थित बनाइनेछ। यसैगरी, सरकारी तथा निजी क्षेत्रका कर्मचारी, स्वरोजगार र अन्य आम नागरिकलाई बीमाको दायरामा समेट्ने रणनीति लिइएको छ। आर्थिक रूपमा विपन्न र योगदान गर्न नसक्ने नागरिकको स्वास्थ्य उपचारको सम्पूर्ण जिम्मेवारी भने राज्यले नै लिने विषयलाई संशोधनमा प्राथमिकता दिइएको छ।
त्यस्तै, स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषलगायतका विभिन्न निकायमार्फत छरिएर उपलब्ध हुँदै आएका स्वास्थ्य उपचार सुविधाबीच समन्वय तथा एकीकरण गरिनेछ। बीमा सेवा प्रवाहलाई सहज बनाउने, स्वास्थ्य संस्थाको दायरा विस्तार गर्ने तथा बीमा क्षेत्रमा देखिने अनावश्यक परीक्षण र अनुचित दाबी नियन्त्रण गर्ने कडा व्यवस्थासमेत प्रस्तावित सुधारमा समावेश गरिएको छ।
स्वास्थ्य बीमालाई केवल उपचार खर्चको व्यवस्थापनमा मात्र सीमित नराखी प्रत्येक नागरिकको स्वास्थ्य सुरक्षासँग जोड्ने मन्त्रालयको लक्ष्य रहेको छ। आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचार सेवाबाट वञ्चित हुन नपर्ने व्यवस्था सुनिश्चित गर्न मन्त्रालयले यो कानुनी तथा नीतिगत सुधारलाई अघि बढाएको मन्त्री मेहताले बताएकी छन्।