काठमाडौँ। नेपाल–भारत सम्बन्धका विविध आयाम र सन्धि–सम्झौता पुनरवलोकन गर्न दुवै देशका विज्ञ सम्मिलित प्रबुद्ध व्यक्ति समूह (इपिजी) ले तयार पारेको साझा प्रतिवेदन अब सान्दर्भिक नरहेको भारतीय विदेश सचिव विक्रम मिस्रीले बताउनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा सोमबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै सचिव मिस्रीले इपिजी प्रतिवेदन विगतको विषय भइसकेको र भारत अब पछाडि फर्केर नहेर्ने स्पष्ट पार्नुभएको हो।
एनडिटिभी र ‘द हिन्दू’ का पत्रकारहरूले सीमा विवाद समाधान र सन् १९५० को सन्धि पुनरवलोकनको सन्दर्भमा इपिजी प्रतिवेदनको भविष्यबारे प्रश्न उठाएपछि मिस्रीले प्रतिवेदन कहाँ छ भन्नेसमेत आफूलाई जानकारी नभएको प्रतिक्रिया दिनुभयो। सोमबार नेपाल र भारतका प्रधानमन्त्रीले जारी गरेको संयुक्त भिजन दस्तावेजले द्विपक्षीय सम्बन्धका सबै पक्ष समेटेको दाबी गर्दै उहाँले अब सोही दस्तावेजको भावनाअनुसार भविष्यउन्मुख र रचनात्मक ढङ्गले अघि बढ्ने उल्लेख गर्नुभयो। साथै, सन् १९५० को शान्ति तथा मैत्री सन्धि लगायतका कानुनी व्यवस्था पुनरवलोकन गर्न दुवै पक्षले गृहकार्य गरी आपसी सहमतिमा नयाँ संयन्त्र तय गर्ने उहाँको भनाइ छ।
सन् २०१६ मा दुवै देशको सहमतिमा गठित आठ सदस्यीय इपिजीले दुई वर्ष लगाएर नौवटा बैठकमार्फत सन् २०१८ जुन ३० मा सर्वसम्मत रूपमा एउटै प्रतिवेदन तयार पारेको थियो। विगत आठ वर्षदेखि भारतीय पक्षले बुझ्न आनाकानी गर्दै आएको उक्त प्रतिवेदनमाथि नयाँ दिल्लीमा भारतीय पत्रकारहरूले नै दुवै देशका विज्ञको सर्वसम्मत प्रतिवेदनलाई एउटा वक्तव्यले प्रतिस्थापन गर्न सक्छ भनी प्रतिप्रश्न गरेका थिए। संयुक्त भिजन दस्तावेजमा इपिजी प्रतिवेदनबारे एक शब्द पनि उल्लेख नहुँदा र भारतीय पक्षले खुलेआम असान्दर्भिक भनिसक्दा पनि यस विषयमा नेपाल सरकारको औपचारिक धारणा भने अझै स्पष्ट भइसकेको छैन।