काठमाडौं । चीन, रुस र अमेरिकाका राष्ट्राध्यक्षबीच दक्षिण चीनको शेन्जेनमा पहिलोपटक ऐतिहासिक त्रिपक्षीय शिखर बैठक सम्पन्न भएको छ। बिहीबार भएको बैठकमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी भएका थिए।
बैठकलाई तीन शक्तिशाली राष्ट्रबीचको सम्बन्धमा नयाँ अध्यायका रूपमा व्याख्या गर्दै राष्ट्रपति सीले यसलाई ऐतिहासिक महत्वको भेटवार्ता बताएका छन्। उनले बैठक सकारात्मक, रचनात्मक र उपलब्धिमूलक रहेको उल्लेख गर्दै विश्व शान्तिको रक्षा गर्ने विषयमा तीनै देशको समान धारणा रहेको बताए।
शिखर बैठकपछि ‘शान्तिका लागि चीन–रुस–अमेरिका राष्ट्राध्यक्ष घोषणा’ जारी गरिएको छ। घोषणामा तीन देशले अन्तर्राष्ट्रिय परिस्थिति, रणनीतिक स्थिरता र विश्व सुरक्षा विषयमा गहन छलफल गर्दै शान्ति कायम राख्न तथा अन्तर्राष्ट्रिय सुरक्षा सुदृढ गर्न प्रतिबद्धता जनाएका छन्।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का स्थायी सदस्य रहेका तीन प्रमुख शक्तिबीचको यो बैठकले आपसी संवाद र समन्वयलाई बलियो बनाउँदै गलत बुझाइ, तनाव र सम्भावित जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने विश्लेषकहरूले बताएका छन्।
प्रमुख शक्तिबीच सहअस्तित्वका चार आधार
बैठकमा राष्ट्रपति सीले ठूला शक्तिहरूबीच सम्बन्ध सुधार तथा विश्व शान्ति कायम राख्न चार प्रमुख आधार प्रस्तुत गरेका छन्। उनले पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व, साझा लाभका लागि सहकार्य तथा संवाद र परामर्शलाई प्राथमिकता दिनुपर्ने बताए।
उनका अनुसार सबै देशले एकअर्काको सार्वभौमिकता र भौगोलिक अखण्डता, राजनीतिक व्यवस्था, विकासको बाटो तथा प्रमुख राष्ट्रिय हितको सम्मान गर्नुपर्छ। कुनै पनि देशले अर्को देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु उचित नहुने उनको भनाइ थियो।
संवेदनशील विषयमा निर्णय लिनुअघि आपसी संवाद र परामर्श गर्नुपर्ने तथा एकअर्काको दृष्टिकोण बुझ्ने प्रयास गर्दै सावधानी अपनाउनुपर्ने उनले बताए। विशेषगरी कुनै देशको संवेदनशीलता र सीमालाई चुनौती दिने गतिविधिबाट जोगिनुपर्नेमा उनले जोड दिए।
चीन, रुस र अमेरिका प्रतिस्पर्धी वा शत्रुका रूपमा नभई साझेदार तथा मित्रका रूपमा अघि बढ्नुपर्ने बताउँदै सीले द्वन्द्व र टकरावबाट टाढा रहन तथा ‘थुसिडाइड्स ट्र्याप’बाट बच्नुपर्ने धारणा राखे। दोस्रो विश्वयुद्धका प्रमुख विजेता राष्ट्रका रूपमा तीन देशले युद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्थाको संरक्षण गर्नुपर्ने पनि उनले बताए।
मिडिया रिपोर्टअनुसार तीन राष्ट्रका प्रमुखबीचको बैठक करिब डेढ घण्टा चलेको थियो। बैठकपछि रुसी राष्ट्रपति पुटिनले चिनियाँ राष्ट्रपति सीसँग बिदाइका क्रममा कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिएका थिए।
अमेरिकी राष्ट्रपति ट्रम्पले पनि तीन देशका नेताबीच पहिलोपटक त्रिपक्षीय बैठक हुनुलाई ऐतिहासिक उपलब्धि भन्दै आफू यसबाट खुसी भएको बताएका थिए।
विश्व शान्तिका लागि स्थिरता आवश्यक
अन्तर्राष्ट्रिय सम्बन्धमा प्रतिस्पर्धा र टकराव बढिरहेको अवस्थामा तीन प्रमुख शक्तिबीच भएको यो बैठकले तनाव कम गर्न, सहकार्य बढाउन र विश्व व्यवस्थामा स्थिरता कायम गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बेइजिङस्थित बेइजिङ विदेश अध्ययन विश्वविद्यालयका प्राध्यापक कुई होङजियानले बताएका छन्।
उनका अनुसार बैठकले तीन देशलाई साझा हितका विषय पहिचान गर्न, मतभेदका बीच सहमति खोज्न र विश्वका प्रमुख चुनौती समाधानका लागि सहकार्य गर्न प्रेरित गर्न सक्छ।
चीनले प्रमुख शक्तिहरूबीच सम्बन्धको नयाँ स्वरूप विकास गर्ने आफ्नो अवधारणालाई अघि बढाउँदै आएको उल्लेख गर्दै उनले इतिहासका अनुभवले भविष्यमा शक्तिशाली राष्ट्रहरूबीचको सम्बन्धको स्वरूप अनिवार्य रूपमा निर्धारण नगर्ने बताए।
चीनले अन्तर्राष्ट्रिय सम्बन्धमा आफ्नो भूमिका विस्तार गर्दै अमेरिका र रुससँग निरन्तर कूटनीतिक संवाद कायम राखेको तथा उनीहरूबीच वार्ताका लागि वातावरण निर्माण गरेको चीनको अन्तर्राष्ट्रिय अध्ययन संस्थानका वरिष्ठ अनुसन्धानकर्ता याङ सियियुले बताएका छन्।
ऊर्जा सुरक्षा र आणविक जोखिम न्यूनीकरणमा सहमति
शिखर बैठकपछि जारी घोषणामा तीन देशले संयुक्त राष्ट्रसंघलाई सुधार गर्दै विश्वव्यापी चुनौतीको प्रभावकारी सामना गर्न सक्षम बनाउने तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने यसको मूल उद्देश्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्।
तीन देशले सबै राष्ट्रको हितलाई ध्यानमा राख्दै प्रशोधित पेट्रोलियम पदार्थको उत्पादन तथा आपूर्ति बढाउने योजना अघि सारेका छन्। ऊर्जा आपूर्तिको स्थिरता कायम राख्नु महत्वपूर्ण रहेको पनि घोषणामा उल्लेख छ।
त्यस्तै, राष्ट्रको सहमति तथा सरकारी अधिकारीहरूको कानुनी उन्मुक्तिसम्बन्धी सिद्धान्तलाई महत्वपूर्ण मान्दै अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) लगायतका निकायले आफ्नो अधिकारक्षेत्रको दुरुपयोग गर्न नहुनेमा तीन देश सहमत भएका छन्।
आणविक युद्ध जित्न नसकिने र यस्तो युद्ध कहिल्यै लडिनु नहुने सिद्धान्तलाई पुनः पुष्टि गर्दै तीन देशले आणविक जोखिम घटाउने तथा आणविक हतियारको प्रसार रोक्ने विषयमा संवाद अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
रुस, पूर्वी युरोप तथा मध्यएसिया अध्ययन संस्थानका अनुसन्धानकर्ता ली योङहुईका अनुसार ऊर्जा सुरक्षा र आणविक हतियार नियन्त्रण विश्वका प्रमुख शक्तिहरूबीच साझा चासोका विषय हुन्। प्रतिस्पर्धा र मतभेद भए पनि त्यसले अन्तर्राष्ट्रिय व्यवस्था कमजोर पार्ने वा विश्वलाई युद्धतर्फ धकेल्ने अवस्था आउन नहुने उनले बताए।
आणविक हतियारविहीन विश्वको लक्ष्य
बैठकमा राष्ट्रपति सीले मानवतामाथि निरन्तर खतरा बनेका आणविक हतियार पूर्ण रूपमा प्रतिबन्धित गर्दै क्रमशः नष्ट गर्नुपर्ने धारणा राखेका छन्। आणविक हतियारविहीन विश्व निर्माण गर्नु मानवताको साझा लक्ष्य हुनुपर्ने उनको भनाइ थियो।
विभिन्न क्षेत्रमा जारी युद्ध र द्वन्द्वले आणविक सुरक्षा तथा हतियार नियन्त्रणको जोखिम बढाइरहेको अवस्थामा चीनले अमेरिका र रुसलाई आणविक हतियार नियन्त्रणका प्रयास थप सुदृढ बनाउन प्रोत्साहित गर्न खोजेको विश्लेषक कुईले बताए।
अन्य देशको पनि चासो
तीन प्रमुख शक्तिबीचको ऐतिहासिक बैठकले अन्य देशमा समेत सकारात्मक अपेक्षा जगाएको छ। इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले तीन शक्तिशाली राष्ट्रका नेताबीच भइरहेको ऐतिहासिक भेटवार्ताबाट रचनात्मक परिणाम आउने आशा व्यक्त गरेका छन्।
उनले तीन देशका नेताबीच भइरहेको बैठकप्रति प्रशंसा व्यक्त गर्दै विश्व शान्ति र स्थायित्वका लागि सकारात्मक परिणामको अपेक्षा गरेको बताएका छन्।
विश्लेषक याङका अनुसार चीन, रुस र अमेरिकाबीच संवाद विस्तार, गलत बुझाइ न्यूनीकरण तथा मतभेद व्यवस्थापनले विश्व शान्ति र स्थिरतामा योगदान पुर्याउन सक्छ। यसले अन्य देशलाई पनि अन्तर्राष्ट्रिय जिम्मेवारी वहन गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।