ट्रम्प र नेतन्याहूबीच फोनमै चर्काचर्की, इरानमाथि पुनः सैन्य कारबाही गर्ने विषयमा मतभेद

ट्रम्प र नेतन्याहूबीच फोनमै चर्काचर्की, इरानमाथि पुनः सैन्य कारबाही गर्ने विषयमा मतभेद

  • बिहिबार, कार्तिक २६, २०८३
  • मिर्मिरे अनलाइन

  • 285
    SHARES

काठमाडौं । इरानविरुद्धको युद्धको आगामी रणनीतिलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच मतभेद चुलिएको छ। इजरायली सञ्चारमाध्यमका अनुसार पछिल्ला दिनमा दुई नेताबीच भएको टेलिफोन संवाद चर्काचर्कीमा परिणत भएको थियो।

इजरायलका समाचार संस्था येनेट र येदियोत अहरोनोतले स्रोतलाई उद्धृत गर्दै सार्वजनिक गरेको रिपोर्टअनुसार नेतन्याहूले इरानविरुद्ध पुनः सैन्य कारबाही सुरु गर्न ट्रम्पमाथि दबाब दिएका थिए। तर ट्रम्पले भने तेहरानसँग जारी शान्ति वार्तालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

रिपोर्टहरूका अनुसार नेतन्याहू इरानमाथि पुनः आक्रमण गर्दै त्यहाँको सत्ता परिवर्तनको दिशामा अघि बढ्नुपर्ने पक्षमा छन्। तर ट्रम्प तत्काल सैन्य कारबाही पुनः सुरु गर्ने पक्षमा देखिएका छैनन्। उनी आर्थिक दबाब कायम राख्दै कूटनीतिक वार्तामार्फत इरानलाई थप सहमतिमा ल्याउन चाहन्छन्।

दुवै सञ्चारमाध्यमले स्रोतलाई उद्धृत गर्दै दुई नेताबीचको संवादलाई निकै तनावपूर्ण बताएका छन्। उनीहरूले उक्त संवादलाई ‘नरकजस्तै चर्काचर्की’ को संज्ञासमेत दिएका छन्।

यद्यपि, इजरायलका एक वरिष्ठ अधिकारीले सप्ताहन्तमा दुई नेताबीच कुराकानी भएको पुष्टि गरे पनि विवाद वा भनाभन भएको कुरा अस्वीकार गरेका छन्। नेतन्याहूको कार्यालयले पनि दुई नेताबीच झगडा भएको भन्ने समाचारलाई ‘फेक न्युज’ भन्दै खण्डन गरेको छ।

यसअघि पनि भएको थियो चर्काचर्की

ट्रम्प र नेतन्याहूबीच इरान युद्धकै विषयलाई लिएर यसअघि पनि असमझदारी देखिएको थियो। गत जुनमा भएको टेलिफोन संवादका क्रममा दुई नेताबीच विभिन्न विषयमा मतभेद भएको थियो।

त्यतिबेला ट्रम्पले ‘द पोस्ट’सँगको कुराकानीमा एक फोन संवादका क्रममा आफूले नेतन्याहूलाई गाली गर्दै ‘पागल’ भनेको खुलासा गरेका थिए।

यसैबीच, केही दिनअघि फाइनान्सियल टाइम्सले पनि नेतन्याहूले इरानविरुद्ध पूर्णस्तरको सैन्य कारबाही पुनः सुरु गर्न ट्रम्पलाई मनाउन दैनिक फोन गरिरहेको रिपोर्ट सार्वजनिक गरेको थियो। अक्टोबरमा भएको निर्वाचनपछि नेतन्याहूको राजनीतिक भविष्यसमेत अनिश्चित बनेको बताइएको छ। निर्वाचनमा सिट गुमाएपछि उनको राजनीतिक प्रभाव र आगामी भूमिकामाथि प्रश्न उठ्न थालेका छन्।

इरानमा सत्ता परिवर्तन चाहन्छन् नेतन्याहू

नेतन्याहूले इरानमाथि पुनः आक्रमण गर्नुपर्ने र त्यहाँको वर्तमान सत्ता हटाउनुपर्ने अडान दोहोर्‍याउँदै आएका छन्।

मंगलबार २६औँ नेसेट संसद्लाई सम्बोधन गर्दै उनले इरानको नेतृत्व परिवर्तन नै आफूले तेहरानबाट उत्पन्न भएको खतरा अन्त्य गर्ने एकमात्र उपाय भएको दाबी गरे। उनले इरानले आफ्नो आणविक कार्यक्रम पुनः अघि बढाउन खोजिरहेको आरोपसमेत लगाए।

नेतन्याहूले भने, ‘इरान आणविक खतरा पुनः खडा गर्ने प्रयास गरिरहेको छ। यो अस्तित्वमाथिको खतरालाई स्थायी रूपमा अन्त्य गर्ने एकमात्र उपाय अयातोल्लाह शासनलाई हटाउनु हो।’

ट्रम्प तत्काल युद्धमा फर्किने पक्षमा छैनन्

नेतन्याहूको दबाबका बाबजुद ट्रम्पले इरानविरुद्ध पुनः युद्ध सुरु गर्ने स्पष्ट संकेत दिएका छैनन्। उनी आर्थिक दबाबको रणनीतिलाई निरन्तरता दिँदै इरानलाई वार्ताको टेबलमा सहमत गराउने पक्षमा देखिएका छन्।

आइतबार प्रसारित ‘६० मिनेट्स’ कार्यक्रममा इरानविरुद्ध पुनः युद्ध सुरु गर्ने सम्भावनाबारे सोधिएको प्रश्नमा ट्रम्पले त्यसो गर्नुपर्ने कुनै कारण आफूले नदेखेको बताएका थिए।

दुई नेताबीचको पछिल्लो संवादले इरानलाई लिएर अमेरिका र इजरायलको रणनीतिमा रहेको भिन्नता थप उजागर गरेको छ। नेतन्याहू सैन्य आक्रमण र सत्ता परिवर्तनलाई प्राथमिकता दिइरहेका छन् भने ट्रम्प आर्थिक दबाब र कूटनीतिक वार्तामार्फत समस्या समाधान गर्ने रणनीतिमा देखिएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ