काठमाडौँ । नेपाली कांग्रेस गत असोजमा सम्पन्न १५ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिकका लागि निर्वाचन आयोग जाने तयारीमा जुटेको छ।
आवश्यक कागजात तयार पारिसकेपछि सम्भव भएसम्म आजै आयोगमा निवेदन दिइने कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहणपछि बिहीबार केन्द्रीय कार्यालय सानेपामा बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले अद्यावधिकको जिम्मेवारी कार्यवाहक मुख्यसचिव पौडेललाई दिने निर्णय गरेको थियो। सोही निर्णय अनुसार आवश्यक कागजात जुटाएर आयोग जाने तयारी भइरहेको छ।
१५ औँ महाधिवेशनबाट कांग्रेसमा २० पदाधिकारीसहित २३१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ। नवनिर्वाचित टोलीले बिहीबारदेखि आफ्नो औपचारिक जिम्मेवारी सम्हालिसकेको छ। राजनीतिक दलसम्बन्धी कानुन अनुसार महाधिवेशन सम्पन्न भएपछि नयाँ निर्वाचित कार्यसमितिको विवरण निर्वाचन आयोगमा अद्यावधिक गराउनुपर्ने व्यवस्था छ।