काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सुरु गर्दै छ।
अभियानको औपचारिक सुरुवातबारे जानकारी दिन आज दिउँसो २:३० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गरिएको प्रवक्ता प्रकाश ज्वालाले बताए। पत्रकार सम्मेलनमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
गत असोज २३ गते बसेको नेकपाको केन्द्रीय संयोजन समितिको बैठकले कात्तिक ७ देखि मङ्सिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। अभियानका साथै आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरी वडा र पालिका अधिवेशन समेत सम्पन्न गर्ने पार्टीको तयारी छ।
पार्टीका अनुसार राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको संरक्षण, जनजीविकाका सवाल, पार्टी समायोजन, सदस्यता नवीकरण र सङ्गठन सुदृढीकरणका लागि यो राजनीतिक तथा सङ्गठनात्मक विशेष अभियान सञ्चालन गर्न लागिएको हो।
अभियानका मुख्य कार्यक्रमहरू:
सङ्गठन सुदृढीकरण र समायोजन: पार्टीका बाँकी रहेका तल्लो कमिटी, जनवर्गीय तथा मोर्चा सङ्गठनहरूको समायोजन पूरा गर्ने र सङ्गठित सदस्यता नवीकरण तथा विस्तारलाई तीव्र बनाउने।
बैठक तथा प्रशिक्षण: पार्टीका नियमित बैठक, भेला र प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने।
जनसम्बन्ध र रचनात्मक कार्य: जनता र पार्टीबिचको सम्बन्ध प्रगाढ बनाउन जनताकेन्द्रित, सांस्कृतिक तथा रचनात्मक कार्यक्रमहरू आयोजना गर्ने।
जनजीविका र सेवा: जनताका दैनिक समस्या तथा माग सङ्कलन गरी कार्यान्वयनका लागि सम्बन्धित निकायमा पहल गर्ने, साथै श्रम तथा जनसेवाका कामहरू अघि बढाउने।
विपद् व्यवस्थापन: विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका कार्यहरूमा सहयोग पुर्याउने।
सचेतना तथा ज्ञापनपत्र पेस: राष्ट्रिय स्वाधीनता, सुशासन र जनअधिकारका पक्षमा सचेतनामूलक कार्यक्रम गर्ने। साथै महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी र असुरक्षाविरुद्ध केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री र जिल्लामा प्रमुख जिल्ला अधिकारी (CDO) समक्ष ज्ञापनपत्र पेस गर्ने।