काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आयोजना गर्न लागेको दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ शनिबार (कात्तिक ७ गते) देखि औपचारिक रूपमा सुरु हुने भएको छ।
अभियानको उद्घाटन भोलि दिउँसो २:३० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनमार्फत गरिने पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए। पत्रकार सम्मेलनलाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
गत असोज २३ गते बसेको नेकपाको केन्द्रीय संयोजन समितिको बैठकले कात्तिक ७ देखि मङ्सिर २५ गतेसम्म देशव्यापी रूपमा राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। अभियानसँगै आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरी वडा तथा पालिका अधिवेशनहरू समेत सम्पन्न गर्ने पार्टीको तयारी छ।
पार्टीका अनुसार राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र जनअधिकारको रक्षाका साथै जनजीविका, पार्टी समायोजन, सदस्यता नवीकरण र सङ्गठन सुदृढीकरणका लागि यो अभियान सञ्चालन गर्न लागिएको हो।
अभियानका प्रमुख कार्यक्रमहरू:
सङ्गठन सुदृढीकरण: पार्टी समितिहरू, जनवर्गीय तथा मोर्चा सङ्गठनहरूको बाँकी समायोजन कार्य सम्पन्न गर्ने र सङ्गठित सदस्यता नवीकरण तथा विस्तारलाई तीव्र पार्ने।
बैठक तथा भेला: पार्टीका विभिन्न तहका बैठक, भेला र प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने।
जनसम्बन्ध र संस्कृति: जनतासँगको सम्बन्ध सुदृढ बनाउन रचनात्मक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने।
जनजीविकाका मुद्दा: दैनिक जनजीविकाका समस्या र जनताका माग संकलन गरी सम्बन्धित निकायमा पेस गर्ने र कार्यान्वयनका लागि दबाब दिने।
ध्यानाकर्षण र ज्ञापनपत्र: महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी र असुरक्षाविरुद्ध केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री र जिल्लामा प्रमुख जिल्ला अधिकारी (CDO) मार्फत ज्ञापनपत्र बुझाउने।
श्रम र सामाजिक सेवा: श्रम तथा जनसेवाका कामहरू सञ्चालन गर्नेका साथै विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने।