न्युयोर्कमा ऐतिहासिक विजय : वामपन्थी जोहरान ममदानी मेयर निर्वाचित, डेमोक्रेटहरूको मनोबल उकासियो

न्युयोर्कमा ऐतिहासिक विजय : वामपन्थी जोहरान ममदानी मेयर निर्वाचित, डेमोक्रेटहरूको मनोबल उकासियो

  • बुधबार, कार्तिक १९, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

अमेरिकाको राजनीतिक केन्द्र मानिने न्युयोर्क सहरमा मङ्गलबार भएको निर्वाचनमा युवा वामपन्थी नेता जोहरान ममदानीले मेयर पदमा ऐतिहासिक विजय हासिल गर्नुभएको छ । यो परिणामले न्युयोर्कको राजनीतिक दिशा परिवर्तन गरेको मात्र नभई सन् २०२६ को मध्यावधि निर्वाचनअघि राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि प्रारम्भिक चेतावनीको रूपमा समेत देखिएको छ ।

ममदानीको यो विजयी परिणामसँगै डेमोक्रेटिक पार्टीले भर्जिनिया र न्युजर्सीको गभर्नर चुनावमा पनि उल्लेखनीय सफलता हात पारेको छ । यी परिणामहरूले ह्वाइट हाउसमा ट्रम्पको पुनरागमनपछि कमजोर भएको डेमोक्रेटहरूको मनोबल पुनः उच्च बनाएको छ भने रिपब्लिकनहरूमा भने चिन्ताको घण्टी बजाएको छ ।

व्यापारिक अभिजात वर्ग, रूढिवादी मिडिया र ट्रम्प आफैँले पनि उहाँको नीति र मुस्लिम पृष्ठभूमिमाथि तीव्र प्रहार गर्दै आउनुभएको थियो । तथापि, ती सबै आलोचनाबीच ममदानीको विजयले समावेशी र प्रगतिशील राजनीतिक शक्तिको उदयको सङ्केत गरेको छ ।

“यदि कुनै स्थानले डोनाल्ड ट्रम्पद्वारा विभाजित राष्ट्रलाई कसरी पुनः एकीकृत गर्ने भनेर देखाउन सक्छ भने, त्यो स्थान यही सहर हो — जसले उहाँलाई जन्म दियो”, ममदानीले विजय भाषणमा समर्थकहरूलाई सम्बोधन गर्दै भन्नुभयो, “राजनीतिक अन्धकारको यस घडीमा न्युयोर्क उज्यालो बन्नेछ ।”

भर्जिनिया र न्युजर्सीमा डेमोक्रेटहरूको गभर्नर पदमा जितले देशको राजनीतिक मुडमा परिवर्तन आएको सङ्केत गरेको छ । यसैबीच, क्यालिफोर्नियामा मतदाताहरूले ट्रम्प समर्थित जेरीम्यान्डरिङ्ग (निरन्तर निर्वाचन क्षेत्र पुनःसंरचना) रोक्ने प्रस्ताव पारित गर्दै चुनावी निष्पक्षतामा जोड दिएका छन् ।

अर्कोतर्फ, ट्रम्पले भने परिणामको जिम्मेवारी लिन अस्वीकार गर्दै आफ्नै ‘ट्रुथ सोसल’ प्लेटफर्ममा अज्ञात पोलस्टरहरू उद्धृत गर्दै रिपब्लिकन पराजयको कारण सरकार बन्द हुनु र मतपत्रमा आफ्नो नाम नहुनु रहेको दाबी गर्नुभएको छ ।

सदनका डेमोक्रेटिक नेता हकीम जेफ्रीजले ‘डेमोक्रेटहरूले डोनाल्ड ट्रम्प र उहाँका चरमपन्थी सहयोगीहरूलाई देशभर परास्त गरिरहेका छन्’ भनी एक्समा लेख्दै पार्टीको पुनरुत्थान भएको घोषणा गर्नुभयो ।

न्युयोर्कको क्विन्स जिल्लाका सांसदसमेत रहेका ममदानीले बढ्दो जीवनयापन लागत, सार्वजनिक यातायात, बाल हेरचाह सुविधा र सहरद्वारा सञ्चालित किराना पसलहरू जस्ता ठोस मुद्दामा जनतालाई आकर्षित गर्नुभएको थियो । उहाँको सरल व्यक्तिगत शैली, सामाजिक सञ्जालमार्फतको सक्रियता र जनस्तरमा प्रत्यक्ष अभियानले व्यापक जनसमर्थन दिलायो ।

“अर्को र अन्तिम गन्तव्य सिटी हल हो”, ममदानीले विजयी घोषणा पछि एक्समा पोस्ट गरिएको भिडियो सन्देशमा भन्नुभयो ।

स्व–वर्णित समाजवादी ममदानी पहिले लगभग अपरिचित हुनुहुन्थ्यो, तर पूर्व गभर्नर एन्डङ्यु कुओमोमाथि डेमोक्रेटिक मनोनयनमा जित हासिल गरेपछि उहाँ चर्चामा आउनुभयो । मङ्गलबारको मुख्य चुनावमा पनि उहाँले कुओमो र रिपब्लिकन उम्मेदवार कर्टिस स्लिवा दुवैलाई पराजित गर्नुभयो । स्लिवा गार्जियन एन्जल्स नागरिक अपराध गस्ती समूहका संस्थापक हुनुहुन्छ ।

ट्रम्पले चुनावको अन्तिम घडीमा ममदानीलाई ‘यहुदी विरोधी’ भन्दै व्यक्तिगत आक्रमण गर्नुभएको थियो, तर त्यो आरोप जनतामाझ प्रभावहीन रह्यो । त्यसैबीच, प्रमुख व्यापारी बिल एकम्यानसहितका आर्थिक वृतका ठूला व्यक्तिहरूले ममदानीका विपक्षीहरूलाई आर्थिक सहयोग गरे पनि परिणाम बदल्न सकेनन् ।

यस वर्षको निर्वाचनमा करिब १४ लाख ५० हजार मतदाताले मतदान गरेका थिए । यो सन् २०२१ को मतसङ्ख्याभन्दा धेरै थियो ।

राजनीतिक विश्लेषकहरूका अनुसार ममदानीको यो अप्रत्याशित उत्थानले डेमोक्रेटिक पार्टीभित्र मध्यमार्गी र वामपन्थी धारबीचको बहसलाई अझ प्रज्वलित गर्नेछ । सिराक्युज विश्वविद्यालयका राजनीति विज्ञ प्रोफेसर ग्रान्ट रीहरले भन्नुभयो, “न्युयोर्क जस्तो सहरमा शासन गर्नु आफैँमा चुनौती हो, जहाँ हरेक पक्षले आफ्नो धारिलो चक्कु निकालिसकेको छ ।”

कुओमोको निर्वाचन पार्टीमा निराशाको वातावरण थियो । केही समर्थकले ट्रम्पले अब सहरमा नेशनल गार्ड पठाउने सम्भावना व्यक्त गरे भने अरूले दक्षिणपन्थी मत विभाजनका लागि स्लिवालाई दोष दिए ।

न्युजर्सीमा डेमोक्रेट उम्मेदवार मिकी सेरिलले ट्रम्प समर्थित व्यापारीलाई पराजित गर्नुभयो भने भर्जिनियामा एबिगेल स्प्यानबर्गरले गभर्नर पद पुनः डेमोक्रेटहरूको कब्जामा ल्याउन सफल हुनुभयो ।

पूर्व राष्ट्रपति बाराक ओबामाले यी दुवै उम्मेदवारलाई समर्थन गर्नुभएको थियो । जीतपछि ओबामाले भन्नुभयो, “हामीसँग अझ धेरै काम बाँकी छ, तर भविष्य अहिले अलि उज्यालो देखिन थालेको छ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी