शक्तिशाली समुद्री आँधी रागासाको कारण आएको मुसलधारे वर्षा र बाढीले ताइवानमा ठुलो क्षति पुर्याएको छ। यसले गर्दा त्यहाँको एक ताल फुटेर कम्तीमा १४ जनाको ज्यान गएको छ भने १२४ जना बेपत्ता भएका छन्।
बुधबार बिहानसम्मको तथ्याङ्क अनुसार, ताइवानको पूर्वी भागमा रहेको हुवालियन काउन्टीको गुआङ्फु सहरमा ताल फुट्दा ठुलो बाढी आएको थियो। हुवालियन काउन्टी सरकारका प्रेस अधिकारी ली कुआन(टिङका अनुसार, ‘बुधबार बिहान ७ बजेसम्म १४ जनाको मृत्यु र १८ जना घाइते भएको पुष्टि भएको छ।’
रागासा सोमबारदेखि नै ताइवानलाई प्रभावित गर्दै दक्षिण चीनको तटीय क्षेत्रतर्फ अघि बढिरहेको छ। यसअघि भारी वर्षाले पहिरो गएपछि बनेको यो ताल मंगलबार दिउँसो फुटेको थियो।
रागासाको शक्तिशाली हावा र वर्षाका कारण हङकङ र दक्षिण चीनका केही भागमा पनि उच्च सतर्कता अपनाइएको छ। चिनियाँ अधिकारीहरूले कम्तीमा १० सहरमा विद्यालय र व्यवसायहरू बन्द गर्न बाध्य भएका छन्।
हङकङमा मंगलबार र बुधबारका लागि विद्यालय सञ्चालन बन्द गरिएको छ।