सी जिनपिङद्वारा आयोजित शिखर सम्मेलनमा सहभागी हुन पुटिन र मोदी चीनमा

सी जिनपिङद्वारा आयोजित शिखर सम्मेलनमा सहभागी हुन पुटिन र मोदी चीनमा

  • आइतवार, भदौ १५, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

चीनलाई क्षेत्रीय सम्बन्धको केन्द्र र अग्रस्थानमा स्थापित गर्ने उद्देश्यले राष्ट्रपति सी जिनपिङले रूस र भारतका नेताहरूसहित करिब २० वटा युरेसियाली मुलुकका व्यक्तिहरूलाई प्रदर्शनी शिखर सम्मेलनमा भेला गर्नुभएको छ ।

दोस्रो विश्वयुद्धको समाप्त भएको ८० वर्ष पूरा भएको अवसरमा राजधानी बेइजिङमा आयोजना हुने विशाल सैन्य परेडभन्दा केही दिनअघि, उत्तरी बन्दरगाह सहर तियानजिननमा सोमबारसम्म साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलन जारी छ ।

एससिओमा चीन, भारत, रूस, पाकिस्तान, इरान, कजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान र बेलारुस समावेश छन् । साथै, पर्यवेक्षक वा ‘संवाद साझेदार’ का रूपमा थप १६ देश सम्बद्ध छन् ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन आइतबार वरिष्ठ राजनीतिज्ञ र व्यापारिक प्रतिनिधिहरूको ठूलो टोलीसहित तियानजिन पुग्नुभएको छ ।

यसैबीच, राष्ट्रपति सीले माल्दिभ्स, अजरबैजान, किर्गिजस्तानका नेताहरू र आफ्नो कट्टर सहयोगी बेलारुसका राष्ट्रपति अलेक्जान्डर लुकाशेन्कोसहित धेरै द्विपक्षीय बैठकहरू गर्नुभयो ।

सीले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेट्नुभएको थियो । मोदी सन् २०१८ पछि पहिलो पटक चीन भ्रमणमा अघिल्लो साँझ तियानजिन पुग्नुभएको थियो ।

भारतीय प्रधानमन्त्रीले एक्समा पोस्ट गरेको भिडियोअनुसार, मोदीले सीलाई भारत ‘आपसी विश्वास, गरिमा र संवेदनशीलताको आधारमा सम्बन्धलाई अगाडि बढाउन प्रतिबद्ध’ रहेको बताउनुभयो ।

दुई सबैभन्दा धेरै जनसङ्ख्या भएका मुलुकहरू दक्षिण एसियामा प्रभावका लागि प्रतिस्पर्धी पनि हुन् र सन् २०२० मा उनीहरूबीच घातक सीमा द्वन्द्व भएको थियो ।

गत अक्टोबरमा रूसमा भएको शिखर सम्मेलनमा पाँच वर्षपछि मोदी र सीबीच भेट हुँदा सम्बन्धमा सुधारको सङ्केत देखिएको थियो । मोदीले सीलाई भन्नुभयो, “दुवै देशका दुई अर्ब ८० करोड जनताको हित हाम्रो सहकार्यसँग जोडिएको छ । यसले सम्पूर्ण मानवताको हितका लागि पनि मार्ग प्रशस्त गर्नेछ ।”

हरियालीले घेरिएको तियानजिन गेस्ट हाउसमा द्विपक्षीय वार्ता भएको थियो । चिनियाँ कूटनीतिज्ञहरू हलमार्फत हतारिँदै हिँडिरहेका थिए भने सुरक्षा गार्डहरू कार्यक्रम स्थल वरिपरि तैनाथ थिए र पत्रकार तथा पाहुनाहरूलाई सावधानीपूर्वक नियालिरहेका थिए ।

तियानजिनको ठूलो भाग ट्राफिकका लागि बन्द गरिएको थियो । सहर वरिपरि कडा प्रहरी निगरानी गरिएको थियो ।

सडकमा एससिओलाई प्रवद्र्धन गर्ने आधिकारिक पोस्टरहरू टाँसिएका थिए, जसमा चिनियाँ र रूसी भाषामा ‘आपसी लाभ’ र ‘समानता’ जस्ता शब्दहरू लेखिएका थिए ।

चीन र रूसले कहिलेकाहीँ एससिओलाई नाटो सैन्य गठबन्धनको विकल्पको रूपमा पनि व्याख्या गर्ने गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस फर्केपछि यस वर्षको यो पहिलो शिखर सम्मेलन हो ।

ताइवानमाथि चीनको दाबी र युक्रेनमा रूसको आक्रमणले संयुक्त राज्य अमेरिका र युरोपसँग तनाव बढाएको अवस्थामा विज्ञहरूको भनाइमा बेइजिङ र मस्को एससिओ जस्ता मञ्चलाई रणनीतिक रूपमा प्रयोग गर्न इच्छुक छन् ।

सिङ्गापुरको नानयाङ टेक्नोलोजिकल युनिभर्सिटीका सहायक प्राध्यापक डिलन लोहले भन्नुभयो, “चीनले लामो समयदेखि एससिओलाई गैर–पश्चिमी नेतृत्वमा आधारित शक्ति समूहको रूपमा प्रस्तुत गर्न खोज्दै आएको छ, जसले नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्धलाई बढावा दिन्छ, जुन यसले दाबी गर्दछ, बढी लोकतान्त्रिक छ ।”

इरानी राष्ट्रपति मसुद पेजेस्कियान र उहाँका टर्की समकक्षी रेसेप तैयप एर्दोगानसहित २० भन्दा बढी नेताले सन् २००१ मा स्थापना भएपछिको सबैभन्दा ठूलो बैठकमा सहभागिता जनाएका छन् ।

रूसी राष्ट्रपति पुटिन सोमबार एर्दोगान र पेजेस्कियानसँग अलग–अलग रूपमा भेट्ने कार्यक्रम छ । अपेक्षा गरिएअनुसार, यी वार्ताहरू क्रमशः युक्रेन द्वन्द्व र तेहरानको आणविक कार्यक्रमका विषयमा केन्द्रित हुनेछन् ।

जापानको सोका विश्वविद्यालयका प्राध्यापक तथा पूर्वी एसिया विज्ञ लिम ताई वेईका अनुसार, ‘पुटिनलाई विश्व मञ्चमा प्रमुख खेलाडीका रूपमा एससिओका सबै फाइदाहरू आवश्यक छन्, साथै उहाँलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्र (चीन) को समर्थन पनि चाहिन्छ ।”

लिमले भन्नुभयो, “रूस भारतलाई आफ्नो पक्षमा तान्न उत्सुक छ र संयुक्त राज्य अमेरिकासँग भारतको व्यापार द्वन्द्वले त्यसका लागि अवसर सिर्जना गरेको छ ।”

यो शिखर सम्मेलन नयाँदिल्लीले रूसी तेल खरिद गरेको कारण आफ्ना सामानमा अमेरिकाले ५० प्रतिशतसम्म कर लगाएको केही दिनपछि हुँदैछ ।

भेला भएका धेरै नेताहरू बुधबार बेइजिङमा आयोजना हुने सैन्य परेडमा पनि सहभागी हुनेछन्, जसमा उत्तर कोरियाली नेता किम जोङ उन समेत उपस्थित हुनुहुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी