गाजामा इजरायली सैन्य आक्रमण, बस्ती योजनाको विश्व नेताहरूद्वारा निन्दा

गाजामा इजरायली सैन्य आक्रमण, बस्ती योजनाको विश्व नेताहरूद्वारा निन्दा

  • बिहिबार, भदौ ५, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.4K
    SHARES

इजरायलले गाजा सहरमा आफ्नो सैन्य आक्रमणलाई अझ बढाउने र पश्चिम किनारको ई–१ क्षेत्रमा अवैध बस्ती विस्तार गर्ने योजना बनाएपछि विश्वभरका नेताहरूले यस कदमको कडा विरोध गरेका छन् ।

उनीहरूले यस्तो कार्यले विनाशकारी मानवीय परिणाम ल्याउने चेतावनी दिएका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, बेलायतका विदेशमन्त्री डेभिड लामी लगायतका नेताहरूले इजरायलको सुरक्षा क्याबिनेटले गाजा सहर कब्जा गर्ने योजना स्वीकृत गर्दै करिब ६० हजार जगेडा सैनिक परिचालन गर्ने निर्णय र भविष्यको प्यालेस्टिनी राज्यलाई टुक्र्याउने बस्ती परियोजनालाई लिएर आपत्ति जनाउनुभएको हो ।

फ्रान्सका राष्ट्रपति म्याक्रोनले एक्समा लेख्दै भन्नुभएको छ, “यी कदमहरूले क्षेत्रलाई ‘स्थायी युद्धको चक्र’ मा डुबाउने खतरा छ ।’

उहाँले जोर्डनका राजा अब्दुल्लाह द्वितीय र इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँगको छलफलमा पनि इजरायलको आक्रमणले दुवै जनताका लागि विनाश निम्त्याउन सक्ने बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसले गाजामा हुने आक्रमणलाई ‘खतरनाक वृद्धि’ भन्दै यसले जबरजस्ती विस्थापन, हत्या र ठूलो विनाश ल्याउने चेतावनी दिनुभयो ।

उहाँका अनुसार, यो कदमले गाजामा पहिले नै वञ्चित अवस्थामा रहेका प्यालेस्टिनी जनताको पीडा झन् बढाउनेछ । उहाँले तत्काल युद्धविराम, सबै बन्धकको बिना शर्त रिहाइ र ई–१ क्षेत्रमा अवैध बस्ती विस्तार गर्ने इजरायलको निर्णयलाई उल्ट्याउन आग्रह गर्नुभयो ।

उहाँका अनुसार सबै प्रकारका बस्ती विस्तार अन्तर्राष्ट्रिय कान्रनको उल्लङ्घन हो र यसले प्यालेस्टिनी राज्यको सम्भावना कमजोर पार्छ ।

जर्मन सरकारले पनि इजरायलको सैन्य आक्रमणलाई बढाउने कदमको विरोध गरेको छ । सरकारी प्रवक्ता स्टेफेन मेयरले पत्रकारहरूसँग भन्नुभयो, “यी कार्यहरूले कसरी युद्धविराममा लैजान्छ वा सबै बन्धकहरूको रिहाइमा मद्दत गर्छ भन्ने बुझ्न गाह्रो छ ।”

बेलायतका विदेशमन्त्री लामीले पनि ई–१ बस्ती योजनाको विरोध गर्दै भन्नुभयो, “यदि यो कार्यान्वयन भयो भने, यसले प्यालेस्टिनी राज्यलाई दुई टुक्रा पार्नेछ, अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन हुनेछ र दुई–राज्य समाधानलाई गम्भीर रूपमा कमजोर पार्नेछ । त्यसैले इजरायलले यो निर्णय फिर्ता लिनैपर्छ ।”

अल जजिराका अनुसार, जेरुसेलमको पूर्वमा पर्ने ई–१ क्षेत्रमा करिब तीन हजार पाँच सय आवासीय एकाइहरू निर्माण गर्ने योजना छ, जसले विद्यमान माले अदुमिम बस्ती विस्तार गर्नेछ ।

इजरायलभित्र पनि आलोचना भएको छ । विपक्षी नेता यायर लापिडले ६० हजार जगेडा सैनिक परिचालन गर्ने निर्णयलाई ‘भ्रम’ भन्दै आलोचना गर्नुभयो । उहाँले यसले सैनिकहरूलाई अनावश्यक बोझ पार्ने र ‘ड्राफ्ट–डजिङ’ (सैनिक भर्तीबाट पन्छिन खोज्ने प्रवृत्ति) बढाउने बताउनुभयो ।

उहाँले एक्समा लेख्नुभएको छ, “गाजा जित्ने भ्रममा ६० हजार जगेडा सैनिक बोलाइएको छ । यो सरकार देशकै इतिहासमा सबैभन्दा खराब हो । यसरी हामी युद्ध जित्न सक्दैनौँ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी