अमेरिकाले भेनेजुएलाका मदुरोमाथिको इनाम पाँच करोड डलर पुर्‍यायो

अमेरिकाले भेनेजुएलाका मदुरोमाथिको इनाम पाँच करोड डलर पुर्‍यायो

  • शुक्रबार, साउन २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

संयुक्त राज्य अमेरिकाले सङ्घीय लागूऔषध तस्करीको आरोपमा फरारको सूचीमा रहनुभएका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोमाथिको इनाम बिहीबार दोब्बर गरेर पाँच करोड डलर पुर्‍याएको छ । यसलाई काराकासले ‘दयनीय’ र ‘हास्यास्पद’ भनेर वर्णन गरेको छ ।

मदुरोका विगतका दुई चुनावी विजयलाई मान्यता नदिने वासिङ्टनले दक्षिण अमेरिकी देशका नेतामाथि कोकेन तस्करी गिरोहको नेतृत्व गरेको आरोप लगाएको छ ।

“आज न्याय मन्त्रालय र विदेश मन्त्रालयले निकोलस मदुरोको गिरफ्तारीका लागि सूचना दिनेलाई ऐतिहासिक पाँच करोड डलर पुरस्कार दिने घोषणा गरेको छ”, महान्यायाधिवक्ता पाम बोन्डीले सामाजिक सञ्जालमा एक भिडियोमा भन्नुभयो, “उहाँ विश्वका सबैभन्दा ठूला लागूऔषध तस्करमध्ये एक हुनुहुन्छ र हाम्रो राष्ट्रिय सुरक्षाका लागि खतरा हुनुहुन्छ ।”

यसअघि जनवरीमा दुई करोड ५० लाख डलरको इनाम तय गरिएको थियो ।

भेनेजुएलाका विदेशमन्त्री इभान गिलले बोन्डीको ‘दयनीय’ इनामलाई ‘हामीले देखेको सबैभन्दा हास्यास्पद धुवाँको पर्दा’ भन्नुभएको छ ।

“हाम्रो मातृभूमिको गरिमा बिक्रीका लागि होइन । हामी यो कच्चा राजनीतिक प्रचार अभियानलाई अस्वीकार गर्छौं”, गिलले टेलिग्राममा भन्नुभयो ।

सन् २०२० मा राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा मदुरो र अन्य उच्च पदस्थ भेनेजुएलाका अधिकारीहरूलाई न्युयोर्कको सङ्घीय अदालतमा ‘नार्को–आतङ्कवाद’ षड्यन्त्रमा भाग लिएको लगायतका थुप्रै अभियोगमा दोषी ठहर गरिएको थियो ।

न्याय मन्त्रालयले मदुरोमाथि ‘द कार्टेल अफ द सन्स’ नामक कोकेन तस्करी गिरोहको नेतृत्व गरेको आरोप लगाएको छ । उक्त गिरोहले दुई दशकमा सयौँ टन लागूऔषध संयुक्त राज्य अमेरिकामा पठाएर करोडौँ डलर कमाएको थियो ।

अनुसन्धानकर्ताहरूका अनुसार यो कार्टेलले कोलम्बियाको विद्रोही क्रान्तिकारी सशस्त्र बल (एफएआरसी) सँग हात मिलाएर काम गरेको थियो । एफएआरसीलाई संयुक्त राज्य अमेरिकाले आतङ्कवादी सङ्गठन भनेर लेबल लगाएको छ ।

बोन्डीका अनुसार मदुरोले भेनेजुएली गिरोह ट्रेन डे अरागुआ र मेक्सिकोको सिनालोवा कार्टेलसँग पनि काम गर्नुभएको थियो ।

अमेरिकी लागूऔषध प्रवर्तन प्रशासन (डिइए) ले ‘मदुरो र उहाँका सहयोगीहरूसँग जोडिएको ३० टन कोकेन जफत गरेको छ । यसमा लगभग सात टन मदुरोसँग सम्बन्धित’ रहेको बोन्डीले बताउनुभयो ।

बोन्डीका अनुसार अमेरिकी सरकारले गत सेप्टेम्बरदेखि दुईवटा भेनेजुएली सरकारी विमानसहित मदुरोसँग जोडिएका ७० करोड डलरभन्दा बढी सम्पत्ति जफत गरेको छ ।

“तर पनि मदुरोको आतङ्कको शासन जारी छ”, उहाँले भन्नुभयो, “राष्ट्रपति ट्रम्पको नेतृत्वमा मदुरो न्यायबाट उम्कन सक्नुहुन्न र उहाँलाई आफ्नो घृणित अपराधका लागि जवाफदेही बनाइनेछ ।”

पूर्व बस चालक तथा र ट्रेड युनियन कार्यकर्ता ६२ वर्षीय मदुरोलाई मुद्दा चलाउन सकियो र दोषी ठहर गरियो भने आजीवन कारावासको सामना गर्नुपर्नेछ ।

अभियोगको समयमा, मदुरोले ‘झुटा, मिथ्या’ आरोप भनेर आलोचना गर्नुभएको थियो ।

जुन महिनामा भेनेजुएलाका पूर्व गुप्तचर प्रमुख ह्यूगो आर्मान्डो कार्भाजलले अमेरिकी लागूऔषध तस्करी र नार्को–आतङ्कवादको आरोपमा दोषी स्वीकार गर्नुभएको थियो ।

मियामी हेराल्डले मुद्दासँग परिचित स्रोतहरूलाई उद्धृत गर्दै कार्भाजलले अमेरिकी अधिकारीहरूलाई मदुरोलाई फसाउने कागजात र गवाही प्रदान गर्ने प्रस्ताव राख्नुभएको बताएको थियो ।

वासिङ्टन र काराकासबीचको सम्बन्ध वर्षौँदेखि बिग्रँदै गएको छ ।

अमेरिकी सरकारले सन् २०१३ मा पहिलो पटक पदभार ग्रहण गर्ने मदुरोलाई भेनेजुएलाको विधिवत् निर्वाचित राष्ट्रपतिको रूपमा मान्यता दिएको छैन । यसलाई विदेश मन्त्रालयले ‘गहिरो त्रुटिपूर्ण २०१८ को राष्ट्रपति चुनाव’ भनेको छ ।

“सन् २०२४ जुलाई २८ को भेनेजुएलाको राष्ट्रपति चुनावमा मदुरोले यसको विपरीत प्रमाणका बावजुद छलपूर्वक आफूलाई विजयी घोषणा गर्नुभयो”, विदेश मन्त्रालयले जनवरीमा पहिलेको इनामको घोषणामा भन्यो, “सन् २०२४ जुलाईको राष्ट्रपति चुनावको वैध विजेताका रूपमा मदुरोलाई मान्यता दिन अस्वीकार गर्ने अन्य धेरै देशसँग संयुक्त राज्य अमेरिका पनि सामेल भयो ।”

वासिङ्टनले मादुरोको सरकारमाथि आर्थिक प्रतिबन्ध लगाएको छ ।

आफ्नो तर्फबाट, मदुरोको सरकारले लामो समयदेखि भेनेजुएलामा अमेरिकी हस्तक्षेपको निन्दा गर्दै आएको छ ।

बिहीबार गृहमन्त्री डियोस्डाडो क्याबेलोले राजधानी काराकासको व्यापारिक क्षेत्रमा भएको बम आक्रमणलाई सुरक्षा सेवाले विफल पारेको घोषणा गर्नुभयो ।

भेनेजुएलाका अधिकारीहरूले प्रायः त्यस्ता मामिलाहरूमा गर्ने जस्तै क्याबेलोले अमेरिका र भेनेजुएलाको विपक्षीलाई असफल आक्रमणलाई उक्साएको आरोप लगाउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी