ढाका, ६ साउन । बंगलादेशको वायुसेनाको विमान ढाकाको उत्तरमा दुर्घटनाग्रस्त भएको छ।
सो बिमान जेट माइलस्टोन स्कुल एण्ड कलेजको भवनमा ठोक्किएको ढाका ट्रिब्युनले उल्लेख गरेको छ ।
फायर सर्भिस र सिभिल डिफेन्सले घटनामा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने डेढ सय बढी घाईते भएका छन् ।
मृत्यु हुनेमा १६ जना बिद्यार्थी, २ जना सर्वसाधारण र एक जना विमानका चालक रहेका छन् ।
फायर सर्भिस कन्ट्रोल रुमका ड्युटी अफिसर लिमा खानमले भनिन्, “हामीले दिउँसो १ः१८ बजे उत्तराको माइलस्टोन स्कुल एण्ड कलेज नजिकै विमान दुर्घटना भएको खबर प्राप्त गरेका थियौँ।’ उनका अनुसार घटनास्थलमा उत्तरा, टोङ्गी, पल्लवी, कुर्मीटोला, मिरपुर र पूर्वाचलका आठ वटा दमकल खटिरहेका छन् ।
ढाका मेडिकल कलेज अस्पताल, कुर्मिटोला जनरल अस्पताल, कुवेत–बंगलादेश मैत्री सरकारी अस्पताल, उत्तरा महिला मेडिकल कलेज, शहीद मन्सूर अली मेडिकल कलेज अस्पतालमा उनीहरूको उपचार भइरहेको छ ।
डीएमपीको उत्तरा डिभिजनका उप पुलिस आयुक्त मोहिदुल इस्लामले पत्रकारहरूलाई भने, ‘माइलस्टोन कलेज क्षेत्रमा तालिम विमान दुर्घटना भएको छ। उद्धार कार्य जारी छ। थप विवरण पछि दिइनेछ।’
प्रत्यक्षदर्शीहरूले भने कि विमान अचानक ठूलो आवाजको साथ भवनमा ठोक्कियो, जसले विद्यार्थी र क्याम्पसका कर्मचारीहरूमा त्रास फैलाएको थियो। भवन मुख्यतया प्लेग्रुप कक्षाहरूका लागि प्रयोग गरिएको थियो, जुन दुर्घटना हुनुभन्दा केही बेर अघि मात्र समाप्त भएको थियो।