एजेन्सी, २७ वैशाख ।
पाकिस्तानले भारतविरुद्ध जवाफी कारबाही सुरु गरेको बताएको छ । पाकिस्तानकोको सरकारी टिभी र फौजको जनसम्पर्क विभागले भारतविरुद्ध जवाफी कारबाही सुरु गरेको जनाएको हो । पाकिस्तानी सेनाले भारतको ‘अपरेशन सिन्दूर’विरुद्ध जवाफी कारबाही सुरु गरेको जनाएको छ ।
पाकिस्तानी सेनाको मिडिया शाखा इण्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले गरेको घोषणा अनुसार भारतको आक्रमणको जवाफमा पाकिस्तानले आधिकारिक रूपमा ‘बुनयान-उल-मरसूस’ को नाममा जवाफी कारबाही सुरु गरेको हो।
भारतले आफ्ना तीनवटा सैन्य अड्डालाई निशाना बनाएको पाकिस्तानले आरोप लगाएको थियो । पाकिस्तानी फौजको जनसम्पर्क विभाग आईएसपीआरका अनुसार पाकिस्तानले जवाफी कारबाहीलाई ‘अप्रेशन बुनयान मरसूस’ नाम दिएको छ । भारतले पाकिस्तानको यो दाबीलाई लिएर अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले आफ्ना तीन सैन्य अड्डालाई निशाना बनाएको विषयमा जवाफी कारबाही गर्ने बताएका छन् ।
पाकिस्तानी डिफेन्स सिस्टमले भारतले प्रहार गरेका अधिकांश मिसाइल खसालेको उनको दाबी छ। देशको सेना पूरै तरिकाले तयार रहेको उनको भनाइ छ ।
पाकिस्तानले दाबी गरेका सैन्य अड्डाहरुमा रावलपिण्डी, नूर खान जस्ता रहेका छन् । जो पाकिस्तानको राजधानी इस्लामाबादबाट १० किलोमिटरको दूरीमा छन् ।
कश्मीरमा २६ पर्यटकको ज्यान लिने गरी भएको आक्रमणको जवाफमा भारतले ‘अपरेसन सिन्दूर’ नाम दिएर पाकिस्तान नियन्त्रित कश्मीर र भित्री पाकिस्तानसमेत सुरु गरेको थियो।
जवाफमा पाकिस्तानले पनि बिहीबार साँझ भारतका विभिन्न स्थानमा ३ सयदेखि ४ सय ड्रोन आक्रमण गरेको भारतीय सैन्य अधिकारीहरूले दाबी गरेका छन् । भारतले सुरु गरेको ‘अपरेसन सिन्दूर’ पछि त्यस हमलामा महिला र बालबालिकासहित ३१ जना निर्दोष नागरिक मारिएको प्रतिक्रिया दिँदै पाकिस्तानले पनि जवाफी कारबाही गरेको बताएको छ ।
भारत र पाकिस्तानबीच दशकौंपछि द्वन्द्व चरमोत्कर्षमा पुगेसँगै विवादित कश्मीरका सीमामा दुवैतर्फ आक्रमणमा परी सर्वसाधारणहरू हताहत भइरहेका छन् । भारतीय विदेश मन्त्रालयले बिहीबार राति पाकिस्तानले ३÷४ सयवटा ड्रोन आक्रमण गरेको जनाएको छ ।
शुक्रबारको प्रेस ब्रिफिङमा कर्नेल सोफिया कुरैसीले बिहीबार राति भारतका विभिन्न ३६ स्थानमा पाकिस्तानले ड्रोन आक्रमण गरेको जानकारी दिएकी हुन् । ‘लेहदेखि सरक्रिकसम्म ३६ ठाउँमा ३र४ सय ड्रोनका माध्यमबाट घूसपैठको प्रयास भयो ।
भारतीय सुरक्षा बलले काइनेटिक र ननकाइनेटिक उपकरण प्रयोग गरी थुप्रै ड्रोन खसाले,’ कर्नेल कुरैसीले ब्रिफिङमा भनिन् । पाकिस्तानले भने भारतीय पक्षले लगाएको आरोप खण्डन गर्दै आएको छ ।
उता, जम्मू कश्मीरका उपराज्यपाल मनोज सिन्हाले राज्यमा नयाँ बंकरको आवश्यकता रहेको बताएका छन् । जम्मू कश्मीरको उरी क्षेत्रको अनुगमनपछि उपराज्यपाल सिंहले सर्वसाधारणलाई कुनै समस्या नहोस् भनेर कश्मीर प्रशासनले ध्यान दिएको बताएका हुन् । घाइते भएकालाई उपचारको व्यवस्था र मृतकका परिवारलाई सहयोग गर्ने पनि उनले जनाएका छन् । उनले भनेका छन्, ुएउटा कुराचाहिँ नयाँ बंकर आवश्यक देखियो । आगामी दिनमा ती पनि बनाइन्छन् ।ु