२४ वैशाख, काठमाडौं । भारतीय सेनाले पाकिस्तानविरुद्ध सुरु गरेको ‘अपरेशन सिन्दूर’ अन्तर्गतको आक्रमणको चीनले बिरोध गरेको छ ।
पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न क्षेत्रहरूमा हवाई हमला गरेपछि चीनले औपचारीक रुपमा बिरोध जनाएको हो ।
चीन पाकिस्तानको पक्षमा रहँदै आएको छ ।
यहीक्रममा बुधबार चीनको विदेश मन्त्रालयले पाकिस्तानविरुद्ध भारतले चलाएको सैन्य कारबाहीलाई ‘खेदजनक’ भनेको छ।
दक्षिण एसियाली प्रतिद्वन्द्वी मुलुकहरूबीच बढ्दो तनावबारे सोधिएको प्रश्नमा मन्त्रालयका प्रवक्ता माओ निङले चीन यो परिस्थितिप्रति ‘चिन्तित’ रहेको बताएका छन्।
उनले भारत र पाकिस्तान दुवैलाई ‘शान्त रहन, संयम अपनाउन र स्थितिलाई अझ जटिल बनाउने कुनै पनि कार्य नगर्न’ आग्रह गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, चीन हालको परिस्थितिप्रति चिन्तित छ। भारत र पाकिस्तान ती दुवै चीनका पनि छिमेकी मुलुकहरू हुन्। चीन सबै प्रकारका आतंकवादको विरोध गर्छ। हामी दुवै पक्षलाई शान्ति र स्थायित्वको बृहत्तर हितका लागि सोच्न, शान्त रहन, संयमता अपनाउन र परिस्थितिलाई अझ जटिल बनाउने कुनै पनि कदम चाल्नबाट जोगिन आग्रह गर्छौं।