वैशाख १७, एजेन्सी । अमेरिकाको ४७औं राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालले एक सय दिन सफल भएको दावी गरेका छन् । मंगलबार मिसिगनमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै उनले आन्तरिक उद्योग स्थापना, आप्रवासीको समस्यालाई कडाइका साथ हेर्दै निष्कासन र विश्व राजनीतिमा पारेको प्रभावबारे लामै फेहरिस्त सुनाए । उनले अधिकांश समय आफ्नो उपलब्धि र पूर्वराष्ट्रपति जो बाइडेनको आलोचना गर्नमै खर्चिए । उनले आफ्नो पहिलो एक सय दिनको कार्यकाल सफल भएको दाबी गरे ।
ट्रम्पले मिसिगनमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफ्नो भाषणका क्रममा उपलब्धिको प्रशंसा गर्दै आलोचकविरुद्ध खरो अभिव्यक्ति दिए । बाइडेनलाई त असफल र मूर्ख नेतृत्वकर्ता भएको टिप्पणी समेत गरे । मिसिगनमा आफ्ना समर्थकलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले आफूले राष्ट्रपति पदलाई ‘गहन परिवर्तन’का लागि उपयोग गरेको दाबी गरेका छन् । मंगलबार डेट्रोइटको एक उपनगरमा भीडलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले भर्खरै सुरु गरेका छौं । तपाईंले अहिलेसम्म केही देख्नुभएको छैन ।’
उनले अमेरिकाका स्वचालित उद्योगहरुको बारेमा कार उद्योगहरु मध्यपश्चिमी राज्यमा प्लान्ट खोल्नका लागि लाइनमा बसेको समेत बताए । अमेरिकी कार निर्माताहरुले मूल्य बढ्ने चेतावनी दिएपछि उनले आफ्नो आर्थिक योजनाको मुख्य कुरा नै विदेशी कार र कारका पाटपूर्जाको आयातमा कर लगाएर सहज बनाएको दाबी गरे ।
सम्बोधनका क्रममा ट्रम्पले आफ्नो लोकप्रिया घटेको भन्ने मत सर्वेक्षणलाई नक्कली भएको आरोप लगाउनेदेखि आफ्नो कार्यकालमा अण्डाको मूल्य ८७ प्रतिशतले घटेको दाबीसम्मका कुरा सुनाए ।
यो सय दिनमा उनले जारी गरेका कार्यकारी आदेश, निर्देशन र उनैको योजनाअनुसार बनेको कर्मचारी कटौती गर्न भन्दै बनेको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिएन्सी (डज)ले गरेका निर्णय र ‘ट्यारिफ वारुका कारण अमेरिका मात्रै होइन सिंगो विश्व व्यवस्था नै खलबलिएको छ ।’
टाइम म्यागेजिन ट्रम्पको सय दिने कार्यकालबारे गरेको रिपोर्टिङमा ‘दोस्रो कार्यकालका पहिलो १०० दिनहरू अमेरिकी इतिहासकै सबैभन्दा अस्थिर बनाउने दिनहरू भएको उल्लेख गरेको छ ।
टाइम म्यागजिनले ट्रम्पले जारी गरेका एकपछि अर्को आदेशले पूरै सरकारी निकाय र विभागलाई अशक्त बनाइदिएको उल्लेख गरेको छ । ट्रम्पले सय दिनमा ग्रिनल्यान्डलाई बलपूर्वक कब्जा गर्ने, पनामा नहरको नियन्त्रण लिने, र क्यानडालाई गाभ्नेजस्ता धम्की एकपछि अर्को गर्दै दिइरहेका छन् । संघीय सेवामा कार्यरत एक लाखभन्दा बढी कर्मचारीलाई हटाउनेदेखि विश्वविद्यालयको अनुदान रोक्नेसम्मका सबै काम उनले यही सय दिनमा गर्न भ्याए । ट्रम्पले एकपछि अर्को गर्दै लिएको ट्यारिफ सम्बन्धी निर्णयबारे टाइम म्यागेजिनले लेखेको छ, ुविश्व अर्थतन्त्रलाई नयाँ ढाँचामा ढाल्ने प्रयासमा उनले व्यापकरूपमा भन्सार शुल्क लगाउँदै व्यापार युद्ध सुरु गरेका छन्, जसले बजारहरू ध्वस्त बनाएको छ ।
अलजजिराले भने राष्ट्रपति ट्रम्पले सय दिनमा यसअघिका राष्ट्रपतिलेभन्दा धेरै कार्यकारी आदेशमा हस्ताक्षर गरिसकेको उल्लेख गर्दै उनले ट्यारिफहरु लगाएर विश्व बजारलाई अस्थिर बनाएको उल्लेख गरेको छ । ट्रम्पले अहिलेसम्म कम्तीमा १४२ वटा कार्यकारी आदेशमा हस्ताक्षर गरिसकेका छन् । कार्यकाल सम्हालेको पहिलो दिनमा उनले २६ वटा आदेशमा हस्ताक्षर गरेका थिए । जसमा जनवरी २०२१ को क्यापिटल हलमा भएको घटनामा दोषी ठहरिएका १,५०० भन्दा बढी व्यक्तिलाई माफी दिनेदेखि विश्व स्वास्थ्य संगठनबाट फिर्ता हुने र मेक्सिको खाडीको नाम परिवर्तन गरी ‘गल्फ अफ अमेरिका’लगायतका विषयसमेत समेटिएका छन् ।
खर्च घटाउन कर्मचारीको व्यापक कटौती गर्ने भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले खर्बपति इलन मस्क नेतृत्वमा डज स्थापना गरेका थिए । सीएनएनका अनुसार डजले संघीय एजेन्सीहरुबाट कम्तीमा १ लाख २१ हजार कर्मचारीलाई बर्खास्त गरिएको छ ।
ट्रम्पको सय दिने कार्यकालमा विश्वका कम्तीमा ११ नेताहरुले अमेरिकाको औपचारिक भ्रमण गरे । जसमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुदेखि जापानी प्रधानमन्त्री शिगेरु इशिबासम्म, जोर्डनका राजा अब्दुल्लाह दोस्रोदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्मले अमेरिका भ्रमण गरे । फ्रेन्च राष्ट्रपति इम्यानुएल म्याक्रोनदेखि इटालियन प्रधानमन्त्री जोर्जिया मेलोनीसम्मले यहीबीचमा अमेरिका भ्रमण गरे । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीको २८ फेब्रुअरीमा भएको अमेरिका भ्रमण भने वाक युद्धमा मात्रै बदलिएन, यही घटनापछि राष्ट्रपति ट्रम्पले अमेरिकाले युक्रेनलाई दिएको सैन्य सहायता फिर्ता गरिएको घोषणासम्मका घटना विकसित भए ।
अलजजिराले ट्रम्पको दोस्रो कार्यकालले सय दिनको समीक्षा गर्दै चुनावी अभियानको क्रममा, ट्रम्पले कम्तीमा ७५ वटा आश्वासन दिएको उल्लेख गरेको छ ।