अमेरीकामा जन्मिएकै आधारमा नागरिकता नदिने आदेशमा नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश जारी गरेका छन् ।
उनले विशेषगरी सीमा सुरक्षा, आप्रवासी नीति, जलवायु परिवर्तनसम्बन्धी लगायत विभिन्न आदेशमा हस्ताक्षर गरेका हुन्।
ट्रम्पले चार वर्षअघि संसद भवनमा आक्रमण गरेको अभियोगमा सजाय काटिरहेकाहरूलाई आममाफी दिएका छन्।
सोमबार राष्ट्रपतिको शपथ लिएपछि २०२१ जनवरी ६ मा अमेरिकी संसद भवनमा भएको आक्रमणको घटनामा सजाय काटिरहेका १५ सय अभियुक्तहरूलाई माफी दिने निर्णयमा हस्ताक्षर गरेका छन्।
त्यतिबेला संसद भवनमा आक्रमण गर्नेहरू ट्रम्पकै समर्थक रहेको भनिएको थियो।
ट्रम्पले अमेरिका र मेक्सिकोको सिमानमा राष्ट्रिय आपतकाल घोषणा गर्ने आदेशमा हस्ताक्षर गरेका छन्। यस्तो आदेशले अब त्यहाँ सेना पठाउन अनुमति दिने भनिएको छ।
त्यस्तै उनले अमेरिकामा जन्मेकै आधारमा नागरिकता दिने नीतिको अन्त्य गर्ने आदेशमा पनि हस्ताक्षर गरेका छन्।
त्यस्तै आप्रवासी नीतिहरूलाई कडा पार्ने आदेशहरू हस्ताक्षर गरेका छन् जसमा गैरकानुनी रूपमा अमेरिकामा बसिरहेकाहरूलाई उनीहरूकै देश फर्काइने भनिएको छ।