एजेन्सी कार्तिक १४ । युक्रेनका लागि महत्वपूर्ण रहेको डोनेस्कको सेलिदोभो शहर रुसी सेनाले कब्जा गरेको छ ।
मंगलबार रुसी रक्षा मन्त्रालयले बताए अनुसार २४ हजार जनसंख्या रहेको सो शहरमा सेनाले छोटो समयमै यो शहर नियन्त्रणमा लिएको हो ।
यो शहर जेपोरेजिया र पोक्रोबस्कका लागि सैन्य आपुर्तिको महत्वपूर्ण मार्ग रहेको थियो । जसलाई रुसले बन्द गरिदिएको छ । प्रशासनिक भवनहरुमा रुसी झण्डा फहराईएको छ ।
रुसी सेनाले पछिल्लो समय व्यापक मात्रामा युक्रेनी भुभाग कब्जा गर्दै गएको छ । युक्रेनले क्रस्कमा कब्जा गरेपछि पनि रुसले युक्रेनी भुभागबाट सेना फिर्ता नगरी लडिरहेको छ । अब केही समय भित्रै डोनेस्कको अन्तिम किल्ला पोक्रोबास्कलाई रुसी सेनाले घेराबन्दीको तयारी गरेको छ ।
यसैबीच, युक्रेनका तर्फबाट लडिहेका चार जना विदेशी लडाकु सीमा क्षेत्रमा मारिएका छन् । ब्रायन्सक क्षेत्रमा प्रवेश गरेर हमला गर्न खोज्ने लडाकु समुह मध्य चार जना मारिएको रुसी अधिकारीहरुले बताएका छन् । सो समुहबाट क्यानेडियन झण्डा, पोलिस प्रार्थना बुक र पश्चिमा हतियार र विष्फोटक पदाथ फेला परेको अधिकारीहरुले बताएका छन् ।