एजेन्सी । सन् १९९० पछि तात्कालिन अमेरीका र सोभियतसंघको शीत युद्धको अन्त्यपछि अमेरीकी नेतृत्वको एक ध्रुवीय विश्व खडा भयो । अमेरीकाले सँयुक्त राष्ट्रसंघ, अन्तराष्ट्रिय मुद्रा कोष, विश्व व्यापार संगठन, विश्व बैंक जस्ता संस्थाहरु आफ्नो प्रभाव र ईशारामा चलाउन शुरु गर्यो । अमेरीकी डलर विश्वको साझा मुद्राको रुपमा स्थापित भयो । अमेरीकाले जुन देशमा चाहन्छ त्यसमा हस्तक्षेप गर्ने, युद्ध निम्त्याउने, आक्रमण गर्ने श्रृखला शुरु गर्यो जारी राखेको छ ।
आफूसँग असहमत हुने देशहरुमा आर्थिक प्रतिवन्ध लगाएर उसले ठूलो आर्थिक कठिनाईमा पारिदियो । यसको मार अहिले रुस, ईरान , उत्तर कोरीया जस्ता देशहरुले भोगिरहेका छन् ।
रुसको मात्रै ७ अर्ब डलर भन्दा बढी रकम पश्चिमाहरुले कब्जा गरेका छन्, जुन अमेरीकी डलरमा रुसले बैदेशिक सञ्चितिका रुपमा राखेको थियो ।
पश्चिमा विश्वको यो प्रभूत्वलाई चीर्न रुसी राष्ट्रपति भ्लादीमीर पुटिनको पहलमा सन् २००९ मा स्थापित ब्रिक्स समुह अहिले शक्तिशाली बन्ने दिशामा अघि बढीरहेको छ । जसले हालै रुसको कजानमा १६ औँ सम्मेलन गरी पश्चिमाहरुको प्रतिबन्धहरुलाई अस्वीकार गर्ने घोषणा गरेको छ ।
यस सम्मेलनमा रुस, चीन, भारत, ब्राजिल , दक्षिण अफ्रीका सहित २८ देशका राष्ट्र प्रमुख तथा प्रतिनिधिहरुले भाग लिएका छन् ।
ब्रिक्स देश विश्वको सबै भन्दा तेस्रो ठूलो आर्थिक शक्ति बनेको छ । ग्लोबल जिडिपिमा युरोपेली युनियनको हिस्सा १४ प्रतिशत छ भने ब्रिक्स देशको हिस्सा २७ प्रतिशत रहेको छ ।
ब्रिक्सको आफ्नो अलग्गै बैंक समेत रहेको छ जसको नाम न्यु डेभलपमेन्ट बैंक राखिएको छ । यसको कार्यलय चीनको आर्थिक राजधानी शांघाईमा रहेको छ । यसले विश्वव्यापी रुपमा एक सय परियोजनामा ३३ अर्ब डलर लगानी गरीसकेको छ ।
शुरुमा ब्राजिल, चीन, रुस, भारत मिलेर बनेको यो समुहमा सन् २०१० पछि दक्षिण अफ्रीका मिसिएको थियो । अहिले सदस्यहरु बढीरहेका छन् । विश्वका करीब ४० देश ब्रिक्समा जोडिन खोजिरहेका छन् ।
विश्वको कुल जनसंख्याको ४४ प्रतिशत हिस्सा ब्रिक्स देशहरुसँग छ । जस्तो कि भारतको एक अर्ब ४५ करोड, चीनको एक अर्ब ४१ करोड, रुस १४ करोड, ब्राजिल २१ करोड, दक्षिण अफ्रीका ६ करोड ४० लाख, ईजिप्ट ११ करोड, ईथियोपिया १३ करोड, ईरान ९ करोड १० लाख, युएई एक करोड १० लाख जनसंख्या भएका देशहरु ब्रिक्सका सदस्यहरु छन् ।
यसै गरी विश्वव्यापी बस्तु तथा सेवाको निर्यातको १५ प्रतिशत हिस्सा ब्रिक्सको रहेको छ भने कन्जुमर मार्केटको १३ प्रतिशत हिस्सा यो समुहसँग रहेको छ ।
यसै गरी विश्वको शक्तिशाली सैन्य शक्ति भएका देश मध्य ५ वटा देश पनि यो समुहमा छ रुस, चीन, भारत, दक्षिण अफ्रीका, ईरान आदि ।
ब्रिक्स देशहरुले आपसी विवाद जस्तै चीन भारत सीमा समस्यामा पनि सहमतिको विकल्पहरु तयार पार्दै गएका छन् । रुसी तेलमाथि अमेरीकाले लगाएको प्रतिवन्ध चीन र भारतले अस्वीकार गर्दै निरन्तर तेल खरीद गरीरहेका छन् । पश्चिमा नाकाबन्दीको बीच रुसी अर्थव्यवस्थामा निरन्तर बृद्धि भईरहेको छ । साथै अर्को महत्वपूर्ण पाटो ब्रिक्स देशहरुले आपसी कारोबारमा डलरलाई बाईपास गर्न थालेका छन् । आफ्नै देशको मुद्रामा उनीहरुले व्यापार गरीरहेका छन् । यसले पनि भविष्यमा अमेरीकी डलरको प्रभाव र बर्चस्व कमजोर पार्ने छ ।
राजनीतिक, आर्थिक, सैनिक सबै हिशाबले ब्रिक्स अघि बढ्दै जाँदा विश्वले एक ध्रुवीय विश्व व्यवस्थाका नाममा अमेरीकाले मच्चाउदै आएको दादागिरीको अन्त्य हुने अवस्था बन्ने छ ।