लद्दाख क्षेत्रमा जारी तनाव अन्त्य गर्न भारत र चीन सहमत

लद्दाख क्षेत्रमा जारी तनाव अन्त्य गर्न भारत र चीन सहमत

  • मङ्लबार, कार्तिक ६, २०८१
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

लद्दाख क्षेत्रमा जारी तनाव अन्त्य गर्न भारत र चीन सहमत भएका छन् । दुई देशका वार्ताकारबिच भएका चरणबद्ध छलफलमा दुई देशका सैनिकले गलवान उपत्यकामा संयुक्त गस्ती गर्ने सहमति जनाएका छन् । रक्षा र भूराजनीतिक मामलाका जानकारहरू भारत र चीनबिच भएको सहमति नेपालसहित एसियाकै सुरक्षा स्थिरताका लागि महत्वपूर्ण रहेको टिप्पणी गरेका छन् ।

भारतीय विदेशसचिव विक्रम मिश्रीले सोमबार दिल्लीस्थित विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहमति सार्वजनिक गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच रुसमा ब्रिक्स सम्मेलनका वेला भेटवार्ता हुने तयारीपूर्व दुई देशको सहमति सार्वजनिक भएको छ ।

ब्रिक्स सम्मेलन मंगलबारदेखि बिहीबारसम्म रुसको कजान सहरमा हुँदै छ, जहाँ मोदी र सीले साइडलाइनमा द्विपक्षीय वार्ता गर्ने तय भएको छ । आगामी महिना अमेरिकामा हुन लागेको राष्ट्रपतीय चुनावको पृष्ठभूमिमा भारत र चीनबिच भएको यो सहमतिलाई निकै अर्थपूर्ण मानिएको छ । यसबिचमा दुई देशबिच कूटनीतिक र सैन्यस्तरमा संवाद भैरहेका थिए ।

भारत र चीनबिच पछिल्लोपटक २७ भदौमा सीमासम्बन्धी विशेष प्रतिनिधिस्तरमा वार्ता भएको थियो । रुसको सेन्ट पिटर्सबर्गमा ब्रिक्स सुरक्षा अधिकारीहरूको बैठकमा सहभागी हुन पुगेका भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र चिनियाँ विदेशमन्त्री वाङ यीबिच भएको वार्तामा सीमा गतिरोध समाधानका लागि निर्णायक छलफल भएको जानकारहरूको बुझाइ छ । सीमासम्बन्धी विषय छलफलका लागि भारतले डोभाललाई र चीनले यीलाई विशेष प्रतिनिधि तोकेका छन् ।

‘पछिल्ला केही सातादेखि भारत र चिनियाँ कूटनीतिक र सैन्य वार्ताकारहरू एकअर्कासँग सघन सम्पर्कमा रहेर भएका छलफलको परिणामस्वरूप भारत–चीन सीमा अब लाइन अफ एक्च्युएल कन्ट्रोल (एलएसी)मा दुवै सैनिकले संयुक्त गस्ती गर्ने प्रबन्ध मिलाउने सहमति भएको छ,’ भारतीय विदेशसचिव मिश्रीले पत्रकारहरूसँग भने, ‘सीमा क्षेत्रबाट सैनिकहरूलाई अलग गर्ने र त्यहाँ उत्पन्न समस्या समाधानको प्रयास हुनेछ ।’

चार वर्षअघि १ असार ०७७ मा सीमा क्षेत्रको गलवान उपत्यकामा भारतीय र चिनियाँ सेनाबिच भएको झडपका क्रममा दुवैतर्फ मानवीय क्षति भएको थियो । कर्णेलसहित भारतीय सेनाका २० जनाको मृत्यु भएको भारतले सार्वजनिक गरेको थियो । चिनियाँ पक्षको क्षतिको यकिन विवरण सार्वजनिक भएको थिएन ।

सीमा गतिरोधको साढे चार वर्षमा दुवै सेनाले अत्याधुनिक हतियारसहित ६० देखि ७० हजार सैनिक सीमा क्षेत्रमा परिचालन गरेका छन् । संयुक्त गस्तीपछि समस्या समाधानका लागि अर्को कदम चाल्ने भारतीय विदेशसचिव मिश्रीको भनाइ थियो । तर, उनले अर्को कदमबारे चाहिँ थप विवरण खुलाएनन् । गत महिना चिनियाँ रक्षा मन्त्रालयले चीन र भारतले पूर्वी लद्दाखमा गतिरोध अन्त्य गर्न विगतमा तनाव भएका ठाउँहरूबाट सेना फर्काउन सहमति गरेको जनाएको थियो । साथै, दुवै पक्षलाई स्वीकार्य हुने समाधानका लागि दुवै पक्ष अघि बढेको उसले जनाउ दिएको थियो ।

दिल्ली र बेइजिङबिच सैनिक, कूटनीतिक तथा सीमासम्बन्धी वार्ताका लागि गठित विशेष प्रतिनिधिको स्तरमा छलफल हुँदै आएको थियो । बेइजिङमा चिनियाँ विदेश मन्त्रालयको एसियाली मामिला विभागका महानिर्देशक ली जिनसङ र चीनका लागि भारतीय राजदूत प्रदीपकुमार रावतबिच छलफल हुँदै आएको थियो । दिल्लीमा रहेका चिनियाँ राजदूत सू फेइहोङले भारतीय विदेश मन्त्रालयका उच्च अधिकारीसँग छलफल गरेका थिए । लद्दाखको देप्साङ र डेमचोक क्षेत्रमा संयुक्त गस्ती हुनेछ । यसअघि भारतीय र चिनियाँ सैनिक चारवटा क्षेत्रबाट पछि हटिसकेका छन् । जसलाई दुवैले ७५ प्रतिशत समाधान भएको बताउँदै आएका छन् । गत महिना भारतीय विदेशमन्त्री जयशंकरले लद्दाख क्षेत्रस्थित भारत–चीन सीमामा ७५ प्रतिशत समस्या समाधान भइसकेको बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी