सङ्कट बढ्दै र द्वन्द्वहरू तीव्र हुँदै गर्दा विश्व नेताहरू संयुक्त राष्ट्रसङ्घमा भेला हुँदै

सङ्कट बढ्दै र द्वन्द्वहरू तीव्र हुँदै गर्दा विश्व नेताहरू संयुक्त राष्ट्रसङ्घमा भेला हुँदै

  • शुक्रबार, अशोज ४, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

संयुक्त राष्ट्रसङ्घको न्युयोर्क मुख्यालयमा आइतबारदेखि सुरु हुने सङ्गठनको वार्षिक प्रतिष्ठित सम्मेलनमा भाग लिन विश्वका नेताहरू भेला हुँदैछन् । सम्मेलन तीव्र युद्ध, बढ्दो लोकप्रियवाद र कूटनीतिक गतिरोधको विस्फोटक पृष्ठभूमिमा हुँदैछ ।

गाजामा जारी युद्ध, मध्यपूर्वमा चर्किएको बढ्दो तनाव, सुडानको गृहयुद्धमा भोकमरीको अवस्था र युक्रेनमा जारी द्वन्द्वजस्ता समस्याहरू राष्ट्रसङ्घको मुख्य कार्यक्रम महासभाको उच्चस्तरीय सातामा भाग लिने राष्ट्रपति र प्रधानमन्त्रीको कार्यसूचीमा परेका छन् ।

यद्यपि राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यस साता विश्व ‘तेस्रो विश्वयुद्धलाई पन्छाउन सक्षम हुने’ मा जोड दिनुभयो । “हामीले जे देखिरहेका छौँ त्यो द्वन्द्व र दण्डहीनताको भावनामा वृद्धि हो”, उहाँले एक ब्रिफिङमा भन्नुभयो ।

“यो सम्मेलन यो भन्दा अझ महत्त्वपूर्ण र चुनौतीपूर्ण क्षणमा आउन सक्दैनथ्यो”, वासिङ्टनकी राष्ट्रसङ्घीय राजदूत थोमस–ग्रिनफिल्डले भन्नुभयो, “ध्यान र कारबाहीको माग गर्ने सङ्कट र द्वन्द्वका सूची बढ्दै जाने मात्र देखिन्छ तर हामी त्यसो गर्न सक्षम छैनौँ ।”

कूटनीतिको विश्वकप भनिने यो भव्य सम्मेलनले विश्वभर द्वन्द्व र गरिबीमा फसेका लाखौँ मानिसका लागि के हासिल गर्न सक्छ भन्ने स्पष्ट छैन ।

इजरायलका नेता बेन्जामिन नेतान्याहू, प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास र इरानका नयाँ राष्ट्रपति मसुद पेजेश्कियान उपस्थित हुने भएकाले ‘नेताहरूले के भन्दैछन् भन्ने कुरामा गाजा स्पष्टतः यी द्वन्द्वमध्ये सबैभन्दा प्रमुख हुने’ इन्टरनेसल क्राइसिस ग्रुपका रिचार्ड गोवनले बताउनुभयो ।

उहाँले तय गरिएको कूटनीतिक भाषण र मुद्राले ‘वास्तवमा धरातलीय स्तरमा हुने घटनाहरूमा ठूलो फरक नपार्ने’ बताउनुभयो ।

गाजामा युद्ध अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि सुरु भएको थियो । उक्त आक्रमणमा आधिकारिक इजरायली आँकडाहरूमा आधारित एएफपी गणनाअनुसार एक हजार दुई सयभन्दा बढी मानिसको मृत्यु भयो ।

हमास नियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध सुरु भएयता गाजामा इजरायली सैन्य अभियानमा ४१ हजार दुई सय ७२ भन्दा बढी प्यालेस्टिनी मारिएका छन् । संयुक्त राष्ट्रसङ्घले यी आँकडालाई विश्वसनीय मानेको छ ।

द्वन्द्व लेबनानमा फैलिन सक्ने डर उच्च छ । लेबनानमा यस हप्ता हिजबुल्लाहका सञ्चार लक्षित गरेको देखिने शृङ्खलाबद्ध घातक विस्फोटहरू भए । इजरायलले यसबारे अहिलेसम्म टिप्पणी गरेको छैन ।

न्युयोर्कमा कार्यक्रम आइतबारदेखि ‘भविष्यको शिखर सम्मेलन’ सँगै सुरु हुनेछ । यो आगामी वर्षहरूमा विश्वले सामना गर्ने चुनौतीहरूको अग्रिम सम्बोधन गर्ने महासचिव गुटेरेसको प्रमुख प्रयास हो ।

अहिले नै युद्ध समाधान गरौँ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वका नेताहरू भविष्यमा सबैभन्दा जरुरी मुद्दाहरूको सामना गर्ने तरिकामा सम्झौता अपनाउन उपस्थित हुनुहुनेछ ।

गहन वार्ता र गुटेरेसले नेताहरूलाई ‘साहस’ देखाउन आह्वान गर्नुभए पनि मस्यौदा पाठलाई पर्यवेक्षकहरूले महत्त्वाकांक्षाको कमी भएको भन्दै आलोचना गरेका छन् ।

“जोखिमहरूमध्ये एक र यो जोखिमभन्दा बढी छ कि भविष्यको शिखर सम्मेलन विगतको शिखर सम्मेलन जस्तो देखिन सक्छ, र सबैभन्दा राम्रो अवस्थामा वर्तमानको शिखर सम्मेलन जस्तो देखिन सक्छ”, अर्का एक कूटनीतिज्ञले भने ।

“अन्तर्राष्ट्रिय चुनौतीहरू तिनलाई समाधान गर्ने हाम्रो क्षमताभन्दा द्रुत गतिमा अघि बढिरहेका छन्”, गुटेरेसले शिखर सम्मेलनको मूल्यप्रति जोड दिँदै भन्नुभयो, “हामी नियन्त्रणबाहिर भू–राजनीतिक विभाजन र अनियन्त्रित द्वन्द्वहरू देख्छौँ । विशेषगरी युक्रेन, गाजा, सुडान र अन्यत्र, अनियन्त्रित जलवायु परिवर्तन, अनियन्त्रित असमानताहरू… र हाम्रा संस्थाहरू साँच्चै नै यसको गतिसँग मिल्न सक्दैनन् ।”

अन्तर्राष्ट्रिय रेडक्रस समिति (आइसिआरसी) का राष्ट्रसङ्घीय प्रतिनिधि लेटिसिया कुर्टोइसले द्वन्द्वलाई ‘अहिले नै’ समाधान गर्नु महत्त्वपूर्ण छ, ‘अर्को पुस्ताका लागि उद्देश्य’ का रूपमा होइन भन्नुभयो ।

शिखर सम्मेलनपछि राष्ट्रसङ्घका एक सय ९३ सदस्यले एक अर्कालाई सम्बोधन गर्ने उच्चस्तरीय हप्ता हुनेछ र यो ब्राजिलबाट सुरु हुनेछ ।

त्यसपछि संयुक्त राज्य अमेरिका आउनेछ । सम्भवतः गाजामा युद्धविराम वार्तालगायतका विषयहरूमा राष्ट्रपति जो बाइडेनले सम्बोधन गर्नुहुने अपेक्षा गरिएको छ ।

विगत वर्षहरूमा जस्तै चीन र रुसका नेताहरू अनुपस्थित रहनेछन्, तर बेलायतका केइर स्टार्मर, युक्रेनका भोलोदिमर जेलेन्स्की र ब्राजिलका लुइज इनासियो लुला डा सिल्भा उपस्थित हुनुहुनेछ ।

जेलेन्स्की सन् २०२३ मा आकर्षणको केन्द्र हुनुहुन्थ्यो तर एक कूटनीतिज्ञका अनुसार उहाँले आफ्नो ‘विजयको योजना’ प्रस्तुत गर्दा यस वर्ष चर्चामा रहन सङ्घर्ष गर्नुपर्नेछ ।

भव्य कार्यक्रमअघि संयुक्त राष्ट्रसङ्घको नदी किनारमा रहेको मुख्यालय वरिपरि सुरक्षाको फलामे घेरा खडा गरिँदै थियो र स्थानीय बासिन्दा र व्यवसायहरू अन्तहीन भीआईपी मोटरकेडहरू र सडक बन्दका कारण हुने ट्राफिक अवरोधको लागि तयार हुँदै थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी