पुस २९, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको बताएका छन् ।
चिनियाँ नयाँ वर्षको आइतबार काठमाडौंमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध प्रगाढ रहेको बताए ।
नेपाल र चीनबीच शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध रहीआएको उनको भनाई थियो । नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको पनि प्रधानमन्त्री प्रचण्डले बताए । उनले भने, ‘यस सम्बन्धमा हाम्रो प्रतिबद्धता स्पष्ट र दृढ छ । आन्तरिक तथा बाह्य मामिलामा आएको परिवर्तनबाट हाम्रो प्रतिबद्धतामा कुनै हालतमा प्रभावित हुँदैन ।’
आफ्नो चीन भ्रमणको बेला जारी भएको संयुक्त वक्तव्य स्मरण गर्दै प्रधानमन्त्रीले ताइवान चीनकै अभिन्न अंग भएको र ‘ताइवान स्वतन्त्रता’का सम्बन्धमा नेपालको प्रस्ट दृष्टिकोण रहेको बताए । उनले भने, मेरो चीन भ्रमणका क्रममा जारी संयक्त वक्तव्यमा यसलाई प्रस्ट पारिएको छ । हामी फेरि भन्न चाहन्छौँ हामी ताइवान स्वतन्त्रताको विपक्षमा छौँ ।
चीनका विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने स्पष्ट पार्दै उनले दुई देशको सभ्यता नदी र हिमशृंखलाले मात्र नभएर साझा संस्कृति र जनस्तरको सम्बन्ध पनि प्रमुख रहेको बताए । प्रधानमन्त्रीले संस्कृतिक सम्बन्धको गतिलो उदहारणका रुपमा चन्द्रमासमा आधारित पात्रो रहेको उल्लेख गरे ।