पुष २७, कैलाली । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्वत चयन भएका छन् । टीकापुरमा जारी पार्टीको प्रथम अधिवेशनले पार्टीका संरक्षक रहेका चौधरीलाई सर्वसम्मत चयन गरेको हो ।
यसअघि चौधरीका श्रीमती रञ्जिता श्रेष्ठ पार्टी अध्यक्ष रहेकी थिइन् । अधिवेशनमा निर्धारित समयमा रेशमलाल चौधरीको मात्रै उम्मेदवारी परेको जनाइएको छ ।
चौधरीको प्रस्तावक रोशन थापा र समर्थक सानु शाक्य थिए । पार्टीको संरक्षक रहेका चौधरी २०७४ मा कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । चौधरी सर्वसम्मत भएपनि घोषणा भने गरिएको छैन ।
२०७२ मा टीकापुर घटनामा दोषी ठहर भएपछि उनी पार्टीको संरक्षक थिए । गत जेठमा मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफी दिएका थिए ।
महासचिवमा आधा दर्जन बढी आकांक्षी देखिएका छन् । अहिलेसम्म ठाकुरसिंह थारु, धर्म थारु र गंगा थारुले महासचिवका लागि उम्मेदवारी दिएका छन् ।
गठ जेठमा पूर्वसांसद रेशम चौधरी रिहा भएका थिए । मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि उनी रिहा भएका हुन् ।