कोशी प्रदेशको सभामुखमा राप्रपाका विष्ट सर्वसम्मत

कोशी प्रदेशको सभामुखमा राप्रपाका विष्ट सर्वसम्मत

  • मङ्लबार, पुस २४, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

पुस २४, विराटनगर । कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अम्बरबहादुर विष्ट सर्वसम्मत चयन भएका छन् ।

प्रदेशसभाको मंगलबारको बैठकमा उपसभामुख सिर्जना दनुवारले विष्ट सर्वसम्मत सभामुखमा चयन भएको घोषणा गरिन् । तत्कालीन सभामुख बाबुराम गौतमले गत साउन १६ गते राजीनामा गरेपछि कोशी प्रदेशको सभामुख पद रिक्त थियो ।

प्रदेशसभा सचिवालयले मंगलबार संविधानको धारा १८२ तथा कोशी प्रदेशसभा नियमावली २०७४ को नियम ७ बमोजिम कोशी प्रदेशसभाको सभामुख पदको निर्वाचनको कार्यतालिका सार्वजनीक गरेको थियो । सभामुख पदका लागि विष्टको मात्र उम्मेदवारी दर्ता भएपछि उनी सर्वसम्मत भएका हुन् ।

प्रदेशसभा बैठकमा राप्रपा संसदीय दलका नेता तथा प्रस्तावक भक्तिप्रसाद सिटौला तथा समर्थक प्रेमरज थाम्सुहाङले विष्टको एकल उम्मेदवारी परेको भन्दै निर्वाचित गर्न प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव एकल रहेको भन्दै उपसभामुख दनुवारले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् ।

विष्टलाई सत्ता गठबन्धनसहित प्रतिपक्ष एमाले संसदीय दलले पनि समर्थन गरेपछि उनी निर्विरोध चयन भएका हुन् । झापा गौरदहका ७० वर्षीय विष्ट समानुपातिक तर्फका प्रदेशसभा सदस्य हुन् । विष्टले मंगलबार नै प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनियताको शपथ लिए ।

यसअघिका माओवादी केन्द्रबाट चुनिएका सभामुख गौतमले राजीनामा दिएर कांग्रेसका उद्धव थापा नेतृत्वमा गठन भएको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए । थापा नेतृत्वको सरकारलाई सर्वोच्च अदालतले मान्यता नदिएपछि अहिले कोशीमा एमालेको सहयोगमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार कांग्रेसकै केदार कार्कीको नेतृत्वमा सरकार छ ।

प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका चार र जसपाका एक सांसद छन् ।

विष्ट विद्यार्थीकालमा २०२७ सालमा अनेरास्ववियूमा आबद्ध थिए । उनी २०३२ सालदेखि पञ्चायतको समर्थक बनेको राजनीतिक पृष्ठभूमि छ । ०३३ सालमा झापाको जुरोपानी गाउँ पञ्चायत वडा ५ का अध्यक्षमा निर्वाचित विष्ट त्यसपछि उपप्रधानपञ्च हुँदै एक दशकसम्म जिल्ला पञ्चायतको उपसभापति रहेका थिए । उनी बहुदलीय व्यवस्था स्थापना भएपछि राप्रपामा सक्रिय रहँदै सहरी विकास बोर्डको सदस्यसचिवमा नियुक्त भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ