राष्ट्रिय सभाको १९ सिटका लागि हुन लागेको निर्वाचनमा विभिन्न दलका ५२ जना उम्मेद्धार भएका छन् । कोशी प्रदेशमा ‘महिला’ समूहका लागि दुई राजनीतिक दलका तर्फबाट र ‘अन्य’ समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ५ जनाको उम्मेदवारी परेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन्।
यसैगरी, मधेश प्रदेशमा ‘महिला’ समूहका लागि २ राजनीतिक दलका तर्फबाट र ‘अन्य’ समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ५ उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ।
बागमतीमा ‘महिला’तर्फ ४ राजनीतिक दलबाट, ‘दलित’तर्फ ३ राजनीतिक दलबाट, ‘अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय’तर्फ ४ राजनीतिक दलबाट र ‘अन्य’ समूहतर्फ ४ राजनीतिक दलबाट जम्मा १५ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ।
गण्डकी प्रदेशमा ‘महिला’ समूहका लागि ३ राजनीतिक दलका तर्फबाट, ‘अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय’का लागि २ राजनीतिक दलका तर्फबाट र ‘अन्य’ समूहका लागि ३ राजनीतिक दलका तर्फबाट कुल ८ उम्मेदवारको मनोनयन(पत्र दर्ता भएको छ।
लुम्बिनीमा ‘महिला’तर्फ ३ राजनीतिक दलबाट र ‘अन्य’तर्फ ४ राजनीतिक दलबाट जम्मा ७ जनाले मनोनयन(पत्र दर्ता गरेका छन्।
कर्णाली प्रदेशमा महिला समूहका लागि २, दलित समूहका लागि २ र अन्य समूहका लागि २ राजनीतिक दलका तर्फबाट जम्मा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
सुदूरपश्चिममा महिलाका लागि २, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि २ र अन्य समूहका लागि २ राजनीतिक दलका तर्फबाट जम्मा ६ जना उम्मेदवारको मनोनयन(पत्र दर्ता भएको छ।
समग्रमा सातै प्रदेशमा महिलातर्फ १८, दलिततर्फ ५, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ उम्मेदवारको मनोनयन दर्ता भएको छ ।