काठमाडौँ । माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्ग्याएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार गठबन्धन दलहरूबिच सहमति भएपश्चात् माओवादीले आफ्नो कोटामा परेका ६ सिटका लागि उम्मेदवार टुङ्गो लगाएको हो ।
माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारीका लागि कोशीबाट महिलातर्फ चम्मादेवी कार्की, बागमतीबाट अपाङ्गतातर्फ श्रीकृष्ण अधिकारी, गण्डकीबाट महिलातर्फ मनरूपा शर्मा, लुम्बिनीबाट अन्यतर्फ झक्कु सुवेदी, कर्णालीबाट दलिततर्फ विष्णु विश्वकर्मा र सुदूरपश्चिमबाट महिलातर्फ रेणु चन्दको नाम अनुमोदन गरेको हो ।
कोशीका कार्की र बागमतीका अधिकारी जनयुद्धका घाइते नेता हुन् । गण्डकीकी शर्मा सहिद परिवारबाट आएकी हुन् । कालिकोटका बिक पुराना नेता हुन् । सुवेदी र चन्द माओवादीभित्र प्रभाव राख्ने नेतामा गनिन्छन् ।
सुदूरपश्चिम प्रदेशको बैतडीकी रेणु चन्द केन्द्रीय सदस्य हुन् । उनी अखिल नेपाल महिला संघ क्रान्तिकारीकी उपाध्यक्ष समेत हुन् ।
उनी २०६४ को निर्वाचित संविधानसभा सदस्य हुन् । दशरथन्द नगरपालिका–९ की स्थायी बासिन्दा रहेकी चन्द बालकलाकार हुँदै माओवादी आन्दोलनमा लागेकी थिइन् ।
कोशीबाट राष्ट्रिय सभा सदस्यमा उम्मेदवारका रूपमा छानिएकी चम्पादेवी कार्की केन्द्रीय सदस्य हुन् । २०५४ मा एमालेबाट वडा सदस्य जितेकी उनी २०५७ देखि पूर्णकालीन माओवादी कार्यकर्ता भएकी थिइन् । युद्धको क्रममा उनको एउटा हात गुमेको छ । उनी ओखलढुंगा इन्चार्ज र माओवादी निकट महिला संघको सचिव छिन् ।
यस्तै, विष्णु विश्वकर्मा कालिकोटका पुराना नेता हुन् । सुरुदेखि नै माओवादी आन्दोलनमा लागेका उनी पार्टीभित्र इमानदार नेता मानिन्छन् । मालकोटमा शिक्षक रहेका उनी २०५४ सालमा राजीनामा दिएर माओवादीको पूर्णकालीन सदस्य बनेका थिए ।
लुम्बिनी प्रदेशमा झक्कु सुवेदी राष्ट्रिय सभाको उम्मेदवार बन्न सफल भएका छन् । रोल्पाका स्थायी बासिन्दा रहेका सुवेदी तत्कालीन एमालेबाट २०४९ को निर्वाचनमा जिल्ला सभापति जितेका थिए । माओवादी युद्धसँगै भूमिगत भएका उनले प्रवासमा रहेर काम गरेका थिए । २०६४ मा तत्कालीन एमालेका महासचिव माधवकुमार नेपाललाई हराएर चर्चामा आएका सुवेदी २०७० को दोस्रो संविधान सभा निर्वाचनमा काठमाडौँ–२ बाट नेपालसँगै पराजित भएका थिए । उनी २०७४ को निर्वाचनमा समेत काठमाडौँ–६ बाट उम्मेदवार बनेका थिए ।
बागमतीमा अपाङ्गता कोटाबाट उम्मेदवार रहेका श्रीकृष्ण अधिकारी नुवाकोटका पुराना नेता हुन् । २०५३ पुस १९ गते युद्धका क्रममा रामेछापको बेथान चौकी आक्रमणको क्रममा उनले एउटा आँखा गुमाएका थिए ।
गण्डकी प्रदेशबाट महिला कोटामा राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारका रूपमा चयन भएकी मनरुपा शर्मा सहिद परिवारकी सदस्य हुन् । २०५७ सालदेखि भूगोलमा काम गर्दै आएकी उनी वडा हुँदै २०६३ मा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी जिल्ला अध्यक्ष भएकी थिइन् । त्यतिबेला उनी पार्टीको जिल्ला कमिटी सदस्य थिइन् । अहिले गण्डकी प्रदेश सचिवालय सदस्य र पर्वतको संयोजक रहेकी उनले स्याङ्जा, कास्की, गुल्मी र पर्वतमा बसेर काम गरेकी थिइन् । कुश्मा नगरपालिका–१० स्थायी घर रहेकी मनरुपाको श्रीमानलाई २०६१ साल मङ्सिर १७ गते स्याङ्जाको श्रीसीकोटमा सुरक्षाकर्मीले हत्या गरेका थिए ।