काठमाडौँ, २२ पुस : नेकपा (एकीकृत समाजवादी) को आजको सचिवालय बैठकले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गर्न अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदललाई सर्वाधिकार प्रदान गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न बैठकले क्षेत्र, क्लष्टर र उम्मेदवार छनौट गर्ने सर्वाधिकार कार्यदललाई दिएको पार्टी कार्यालय सचिव जीवनराम श्रेष्ठले राससलाई जानकारी दिनुभयो । अध्यक्ष नेपाल नेतृत्वको उक्त कार्यदलमा उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल हुनुहुन्छ ।
आगामी माघ ११ गते १९ स्थानका लागि हुने निर्वाचन तथा राष्ट्रपतिबाट मनोनीत एक सिट बाँडफाँट गर्न गठबन्धन दलबीच अहिलेसम्म भएका छलफल तथा कार्य प्रगतिबारे बैठकमा अध्यक्ष नेपालले जानकारी गराउनुभएको थियो ।
पार्टीले प्राप्त गर्ने सिट सङ्ख्याको अन्तिम टुङ्गो लागेपछि कार्यदलले विभिन्न जिल्ला तथा जनवर्गीय सङ्गठनबाट सिफारिस गरिएका उम्मेदवारमध्ये पार्टी सङ्गठन निर्माणमा योगदान, सम्बन्धित क्षेत्रमा जनस्तरमा समर्पित तथा लोकप्रिय र क्षमता भएर पनि अवसर प्राप्त नगरेका नेतालाई उम्मेदवार छनौट गर्ने जनाइएको छ ।
यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रिय सभा निर्वाचनमा चार प्रदेशमा उम्मेदवार टुङ्गो लगाएको छ । राप्रपाले कोशी प्रदेशबाट उद्धव पौडेल, बागमतीकामा हेमजङ्ग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट, पूर्णबहादुर विश्वकर्मा, गण्डकीबाट गौमाया श्रेष्ठ, रोमबहादुर भण्डारी, तथा लुम्बिनीका निरञ्जन थापा र विजयलक्ष्मी सिंहलाई उम्मेदवार घोषणा गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो ।