पुस १९, काठमाडौँ । नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस जयशंकरले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेका छन् । विदेशमन्त्री जयशंकर काठमाडौं ओर्लिएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेटपछि प्रधानमन्त्री दाहाललाई भेट्न सिंहदरबार पुगेका थिए।
बिहीबार काठमाडौंमा हुने नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर काठमाडौं आएका हुन् । विदेशमन्त्री जयशंकरको भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालको दिल्ली भ्रमणमा भएको समझदारीअनुसार नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता हुने छ ।
विदेशमन्त्री जयंशकरसँग भारतबाट विदेश सचिव विनयमोहन क्वात्रा, विदेश मन्त्रालयको नेपाल र भुटान डेस्क सहसचिव अनुराग श्रीवास्तवलगायतका अधिकारी पनि आएका छन् ।
सिंहदरबारबाट उनी परराष्ट्रमन्त्रीस्तरीय आयोगको बैठकमा सहभागी हुन होटल याक एन्ड यती पुग्नेछन् । जहाँ उनको भेटवार्ता समकक्षी साउदसँग हुनेछ । त्यसपछि बस्ने आयोगको बैठकमा सहमतिमा हस्ताक्षर कार्यक्रम हुनेछ ।
विदेशमन्त्री जयशंकरले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने छन् । बेलुकी ६ बजे परराष्ट्रमन्त्री साउदले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन् । शुक्रबार बिहान भने पशुपतिनाथको दर्शन गरेर दूतावासको कार्यक्रममा सहभागी हुँदै दिउँसो १२ बजे उनी नयाँदिल्ली फर्कनेछन् ।