राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन नजिकिँदै गर्दा सत्ताघटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले छलफललाई तीव्र पारेका छन् । यद्यपि, दुई दलबीच अझै ठोस सहमति हुन बाँकी छ ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा आज बिहान करिब आधा घन्टा छलफल गरेका दुई दलका शीर्ष नेताहरूले फेरी आजै छलफल गरेर निष्कर्षमा पुग्ने सहमति गरेका छन् ।
कांग्रेसका तर्फबाट छलफलमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता रमेश लेखक तथा माओवादीबाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए ।
सत्ता गठबन्धनले माघ ११ मा हुने चुनावका लागि साझा उम्मेदवार तय गरेर जाने बताएका छन्। सत्ता गठबन्धनमा रहेका अन्य दलहरूसँग सामूहिक रूपमा छलफल गर्नुअघि कांग्रेस र माओवादीबीच छलफल भएको हो।
यस अघि हिजो पनि काँग्रेस र माओवादीका नेताबीच छलफल भएको थियो ।