ज्येष्ठ नागरिकको ज्ञान र अनुभव उपयोग गरिने : प्रधानमन्त्री प्रचण्ड

ज्येष्ठ नागरिकको ज्ञान र अनुभव उपयोग गरिने : प्रधानमन्त्री प्रचण्ड

  • बुधबार, पुस ११, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ, ११ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव, सीप तथा प्रज्ञाको उपयोग गरी राज्य सञ्चालनका महत्वपूर्ण निर्णयमा मार्गदर्शन गर्ने वातावरणको निर्माण गर्न सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री दाहालले सरकारले ज्येष्ठ नागरिकका नैतिक आदर्शलाई नयाँ पुस्तामा हस्तान्तरण हुने व्यवस्थाको सिर्जना गर्दै परिवार, समाज तथा राष्ट्रलाई असल संस्कृतिको निरन्तरता र समाज सापेक्ष विकासको प्रेरणाको रूपमा लिएको बताउनुभएको छ ।

प्रधानमन्त्री दाहालले ज्येष्ठ नागरिकको सम्मानित, आरोग्यपूर्ण र सुखमय जीवनयापनको सुनिश्चिततासँग जोडिएका विषयलाई राज्यले प्राथमिकताका साथ सम्बोधन गर्ने प्रयास गरिरहेको बताउनुभएको छ । उहाँले देशको जनसाङ्ख्यिक संरचनामा आएको परिवर्तनसँगै बढ्दो ज्येष्ठ नागरिकको जनसङ्ख्याको समुचित व्यवस्थापनमा थपिएका चुनौतिको सामना गर्न राज्यका सबै निकाय संवेदनशील हुन आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।

ज्येष्ठ नागरिकले जीवनपर्यन्त परिवार तथा समुदायबाट साथ र सहयोग प्राप्त गरिराख्ने अवस्थाको सिर्जना गर्न तथा एकल र असहाय ज्येष्ठ नागरिकको उचित हेरचाहको प्रबन्ध गर्न सरकार निरन्तर लागिपरेको प्रधानमन्त्री दाहालले बताउनुभएको छ । आफ्नो ऊर्जाशील समय कुनै न कुनै रूपमा राष्ट्रका लागि समर्पित गर्ने ज्येष्ठ नागरिकका अधिकार प्रत्याभूत गर्न गरिएका व्यवस्था प्रभावकारी बन्दै गएको उहाँको भनाइ छ ।

“सामाजिक सुरक्षा भत्ता, ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, ज्येष्ठ नागरिक आश्रम, दिवा सेवा केन्द्र तथा उहाँहरूलाई सेवा सुविधामा प्राथमिकता, छुट एवं सहुलियत प्रदान गर्ने कार्यक्रम प्रभावकारी देखिँदै आएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “आगामी दिनमा यस्ता कार्यक्रम थप विस्तार र गुणस्तरीय बनाउने विश्वास दिलाउन चाहन्छु ।”

यसवर्ष दिवसको नारा ‘ज्येष्ठ नागरिकको सम्मान, हाम्रो सभ्यताको पहिचान’ रहेको छ । प्रधानमन्त्री दाहालले यस दिवसले ज्येष्ठ नागरिकको सम्पूर्ण अधिकारको सुनिश्चितता र आत्मगौरवको प्रत्याभूतिका लागि परिवार, समाज र राष्ट्रका प्रयासलाई एकीकृत गर्नुपर्ने राष्ट्रिय जिम्मेवारी पूरा गरी सभ्यताको निरन्तरता तथा विकासमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । यस अवसरमा उहाँले जीवनको महत्वपूर्ण समय समाज र देशका लागि समर्पण गर्ने सम्पूर्ण ज्येष्ठ नागरिकप्रति बधाई तथा शुभकामना प्रकट गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ