काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सबै शक्ति एकजुट भएर एमालेलाई हुँडारले जस्तो आक्रमण गर्दा पनि कार्यकर्ता र जनताले पार्टीलाई जोगाएर लोकप्रिय बनाएको दाबी गरेका छन् ।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा सोमबार राति रामेछापको मन्थलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश-विदेशका प्रतिक्रियावादी शक्ति एकजुट भएर आक्रमण गर्दा पनि लोकप्रिय पार्टी बनाएको भन्दै जनतालाई धन्यवाद दिए ।
उनले नेकपा एमालेलाई बचाउने मात्र होइन देशको सबैभन्दा लोकप्रिय पार्टी र राष्ट्रिय शक्तिको रूपमा उठाएको भन्दै कार्यकर्ता प्रति आभार व्यक्त गरे। ओलीले भने,‘ तीन वर्ष अगाडि कम्युनिष्ट पार्टीको खोल ओडेका, बाघको छाला लगाएका तर स्यालहरुले, त्यस्ताले पार्टी सिद्ध्याउन खोजे, पार्टी कब्जा गरे र हामीलाई त पार्टीको साधारण सदस्यबाट नै निकालिदिए। तर जनताले देशको सबैभन्दा लोकप्रिय पार्टी बनाए।’
उनले रामेछापका तीनलालको योगदानको समेत चर्चा गरे। ओलीले पुष्पलाल श्रेष्ठले कम्युनिष्ट पार्टी स्थापना गर्दा खेलेको भूमिकाको प्रसंशा गरे। संकल्प यात्रामा नागरिकबाट अथाह साथ, समर्थन र उत्साह पाएको बताउँदै उनले एमालेमा देश बनाउने संकल्प थप जागेको धारणा राखे।
पूर्वप्रधानमन्त्री ओलीले एमालेलाई सरकारबाट हटाएपछि देशको आर्थिक बृद्धिदर ह्वात्तै घटेको दाबी गरे।