१७ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको बताएका छन् ।
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन कोप–२८ मा सहभागी भएर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्रीलाई सञ्चारकर्मीहरुले मन्त्रिपरिषद् पुनर्गठनबारे सोधेको प्रश्नको जवाफ दिँदै उनले अहिले त्यस्तो संभावना नरहेको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको कुनै तयारी नरहेको बताए । ‘सरकार गठन भएको बेलादेखि नै को हट्ने, गृहमन्त्री हट्ने चर्चा चल्ने गरेको छ’, उनले भने, ‘अहिले कुनै त्यस्तो छलफल छैन, सोचिएको पनि छैन ।’
आफू प्रधानमन्त्री भएको र आफ्नो दिमागमा मन्त्रिपरिषद् पुनगर्ठनबारे सोच नभएको भन्दै उनले अगाडि भने, ‘यो सबै हल्ला मात्र हो, यसमा कुनै सत्यता छैन ।’
उनले कोप २८ सम्मेलनबाट आफ सन्तुष्ट रहेको र नेपालले आफ्नो माग र मुद्धा स्पष्टसँग राखेको पनि बताए ।