मंसीर ७ काठमाण्डौँ । गणतन्त्र नै फाल्ने भन्दै अभियान चलाईरहेका दुर्गा प्रसाईले आज काठमाण्डौँमा प्रदशन गर्दै छन् । नाकामा कडा जाँच, पार्टी प्यालेसमा केही समुहले बस्न नदिएको जस्ता विभिन्न हल्ला आदिले प्रसाईको प्रदर्शनमा पाँच लाख मान्छे ल्याउने हल्ला भने हल्लामै सीमित हुने देखिएको छ ।
सुरक्षा परिषद्ले सबै सुरक्षा निकायबाट प्राप्त गरेको सूचना अनुसार प्रसाईको आन्दोलनमा विभिन्न प्रदेशबाट गरी २० हजार आसपास मानिस जम्मा हुने आकलन गरेको छ ।
यसै गरी प्रसाईलाई अतिवादी भारतीय केही तत्वले उकासेको र विभिन्न धार्मिक संघ संस्था परिचालन गरेको पनि सुरक्षा स्रोतको दावी छ । भारतीय अतिवादी हिन्दुवादी सिंह थरका व्यक्तिले प्रसाई समुहलाई उकास्ने गरेको प्रहरीको निष्कर्ष छ ।
धार्मिक आवरण दिएर र बैंक बिरोधी नारा लगाउने प्रसाई आफै अर्बौ रुपैया रिण लिएका व्यक्ति हुन् । उनीहरुको प्रदर्शनका क्रममा बैंकहरुलाई निशाना बनाएर तोडफोड हुन सक्ने भन्दै प्रहरीले उच्च निगरानी गर्ने तयारी गरेको छ ।
प्रहरीले हजारौको जनशक्ति परिचालनका साथै ड्रोनबाट जुलुशको निगरानी गर्नेछ । विभिन्न सात ठाँउबाट जुलुश लिएर बल्खुमा भेला गर्ने प्रसाई समुहको तयारी छ । यो जुलुश बिहान सवा १० बजे शुरु हुने भनिएको छ ।