नेपाल संवत नेवारहरुको मात्रै नभई सबै नेपालीको हो : प्रधानमन्त्री

नेपाल संवत नेवारहरुको मात्रै नभई सबै नेपालीको हो : प्रधानमन्त्री

  • मङ्लबार, कार्तिक २८, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

भक्तपुर, २८ कात्तिक (रासस) ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् नेवारहरुको मात्रै संवत् नभएर नेपाल र सबै नेपालीको मौलिक संवत् हो भन्नुभएको छ । शंखधर साख्वाः प्रतिष्यठानले आज मध्यपुरथिमिस्थित शंखधर साख्वाः चोकमा आयोजना गरेको नेपाल संवत्का प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण तथा मध्यपुरथिमिको मौलिक नाम शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “नेपाल संवत् भनेको नेवारहरुको मात्रै संवत् हो भन्ने भ्रम रहेछ, यो संवत् नेपालीको आफ्नै मौलिक संवत् हो, सबै जातजातीको साझा संवत् हो, सिङ्गो नेपाल र नेपाली मात्रको संवत् भएकाले यो संवत्प्रति नेपालीले गर्व गर्नुपर्छ ।”नेपाल संवत्लाई स्थापित गर्न नेवार बुद्धिजीविहरुको मुख्य भूमिका रहेको चर्चा गर्दैै उहाँले नेपाल संवत्लाई राष्ट्रिय संवत् बनाउन पनि उनीहरुले सङ्घर्ष गरेको बताउनुभयो । उहाँले नेपाल संवत् सामाजिक न्यायमा आधारित संवत् रहेको चर्चा गर्नुभयो । शंखधर साख्वाःको प्रेरणाबाट आफूले धेरै निर्णय लिएको स्मरण गर्दै प्रधामन्त्री दाहालले भन्नुभयो, “गणतन्त्र स्थापना भएपछि मेरो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिने ऐतिहासिक निर्णय गरेको हो, त्यतिबेला नेपालका गरिब किसानको ऋण मोचन गर्न ३० हजारसम्म ऋण लिएका सम्पूर्ण किसानको ऋण मिनाहा गर्ने निर्णय गरँे, त्यो निर्णय शंखधर साख्वाःबाट प्रेरणा लिएर गरेको निर्णय हो ।”

उहाँले हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद्को निर्णय र सरकारी दस्तावेजमा विक्रम संवत्सँगै नेपाल संवत् पनि उल्लेख गर्नुपर्ने निर्णय गरेको बताउँदै अब प्रत्येक कागजी प्रक्रिया एवं ठाउँमा यो संवत् कार्यान्वयनमा आउने बताउनुभयो ।कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री सुदन किरातीले आर्थिक सम्बृद्धि र गरिबीको अन्त्य गर्ने नेतृत्व पुष्पकमल दाहाल नेतृत्व सरकारले गर्नुपर्छ भन्दै आजको शंखधर प्रचण्ड बन्नुपर्ने बताउनुभयो । शंखधर साख्वा समाजवादी सांस्कृतिक नायक भएको चर्चा गर्दै मन्त्री किरातीले भन्नुभयो, “धनी र गरिब हुनु हुँदैन सबै समान हुनुपर्छ, ऋणी र साहु हुनु हँुदैन भन्ने मान्यता राख्दै गरिबको ऋण मोचन गर्ने शंखधर साख्वा वर्गीय र जातीय मुक्तिका पक्षपातीसमेत रहेकाले अब प्रचण्ड नेतृत्व सरकारले. आर्थिक सम्बृद्धि र गरिबी अन्त्य गर्दै आजको शंखधर प्रचण्ड बन्नुपर्छ ।” उहाँले संस्कृति, पर्यटन मन्त्रालयले शंखधरको नाममा पुरस्कार स्थापना गर्ने घोषणा गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशका पशुपक्षी मन्त्री डा राजेन्द्रमान श्रेष्ठले नेपाल संवत्लाई व्यवाहारिक रुपमा सरकारी कामकाजमा लागू गर्ने सङ्घीय सरकारको निर्णय स्वागतयोग्य रहेको भन्दै बागमती प्रदेश सरकारले पनि नेपाल र तामाङ भाषालाई कामकाजी भाषाको रुपमा लागू गर्ने निर्णय गरेको बताउनुभयो ।राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नेपाल संवत् नेपालको आफ्नो मौलिक संवत् भएको भन्दै आफ्नो पार्टीले पनि यसलाई कार्यान्वयनमा ल्याउने बताउनुभयो । इतिहासको संरक्षणमा जोड दिँदै उहाँले भन्नुभयो, “जसलाई देख्यो उसैको नाममा चोक, पार्क, गल्ली सडकको नामकरण गर्ने प्रचलन बढेको छ, यसले हाम्रो इतिहास मेटिन्छ, त्यसैले इतिहासलाई जीवन्त राख्न, जथाभावी नामकरण गर्ने बेतिथिको अन्त्य गर्न मौीलक नाम र इतिहासलाई जोगाउनु पर्छ ।”
कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्दावेले नेपालको मौलिक पहिचान खोज्नु र स्थापित गर्नु जरुरी रहेको बताउनुभयो । कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरथिमिले चार सय ५० वटा मौलिक नाम, ठाउँ पहिचान गरेको बताउँदै त्यस्ता मौलिक नामलाई टोलटोलमा स्थापित गर्ने बताउनुभयो ।

प्रतिष्ठानका पूर्व अध्यक्ष श्यामकृष्ण मानन्धरले साख्वाःको योगदानलाई नेपालभरिनै प्रचार गर्ने अभियान सुरु भएको बताउनुभयो । उहाँले शंखधरको प्रतिमालाई देश विदेशमा स्थापना गर्ने अभियान सञ्चालन भएको भन्दै नेपालका २२ ठाउँमा र अमेरिकाको बाल्टिमोडमासमेत साख्वाःको प्रतिमा स्थापना गरेको बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले ११४३ वर्ष अगाडि शंखधर साख्वाःले चलाएको नेपाल संवत् हटाइ राणाहरुले भारतको विक्रम संवत् लागू गरेको चर्चा गर्दै नेपाल संवत् ११०० मा सुरु भएको भिन्तुना आन्दोलनबाट आजसम्म आइपुग्दा ठूलो उपलब्धि हासिल भएको बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्रीले दाहालले मध्यपुरथिमिका मौलिक नामहरु समेटिएको शिलापत्र अनावरण र शंखधर बुलेटिन विमोचन गर्नुभएको थियो । त्यसअवसरमा नेपाल समाचारपत्रका प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठ र नेपाल संवत्को एप्स निर्माण गर्ने सौनक रञ्जीतकारलाई सम्मान गरिएको थियो । त्यसैगरी शंखधर पदकसहित सङ्गीतकार रामकृष्ण दुवाल, अभियन्ता गणेश सायमी र नारायण किलम्बुलाई सम्मान गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ