काठमाडौँ, १६ कात्तिक । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जनजीविकाका सवालमा संसद् प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले भने, “संसद् प्रभावकारी भयो भने सरकार पनि प्रभावकारी हुन्छ । संसद् बलियो हुनुपर्छ । मूल विषय भनेको संसद्लाई बढी भन्दा बढी प्रभावकारी बनाएर जानुपर्छ ।”
उनले संसद्को मूल काम कानुन निर्माणका साथै सरकार निर्माण, राज्यका स्रोत र साधनको वितरण, सरकारका काम कारबाहीको नियमित अनुगमन र मूल्याङ्कन हुने बताए।
“संसद्का काम कारबाही जीवन्त रुपमा काम गर्नुपर्छ । संसद्लाई प्रभावकारी बनाउनका लागि संविधानको रक्षा गर्न प्रतिबद्ध छौँ,” प्रमुख सचेतक लेखकले भने, “लोकतन्त्रमा सहमति, सहकार्य र समन्वय गरेर अघि बढ्नु जरुरी छ । त्यसो भए मात्र संसद् प्रभावकारी हुन्छ ।”
संवाद, सहमति, सहकार्य संविधानको कार्यान्वयन र मुलुकको निर्माणका लागि जरुरी रहेको जनाउँदै उनले ७० वर्षको अन्तरालमा सातवटा संविधान बनाउने काम गरिएको र अब यो संविधान असफल बनाउने छुट कसैलाई पनि छैन भने । उनले अहिले पूराना दलहरुको काम छैन भनेर भ्रमित भाष्य खडा गर्न खोजिएको भन्दै सजग रहनु पर्ने बताए ।
प्रमुख सचेतक लेखकले इजरायलमा अध्ययन गर्न गएका १० जना नेपाली विद्यार्थीले हमासको आक्रमबाट अकालमा ज्यान गुमाउनुपरेको र धेरै घाइते भएको जनाउँदै घटनाप्रति दुःख व्यक्त गरे । उनले हमासको नियन्त्रणमा रहेका विपीन जोशीलाई सहजतापूर्वक सकुसल घर फिर्ता गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताए ।