निर्वाचनका समयमा गरेका प्रतिबद्धता पूरा गर्नु सांसदको कर्तव्य हो– नेत्री खातुन

निर्वाचनका समयमा गरेका प्रतिबद्धता पूरा गर्नु सांसदको कर्तव्य हो– नेत्री खातुन

  • सोमवार, कार्तिक ६, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

काठमाडौँ, ६ कात्तिक : नेपाली कांग्रेसकी नेत्री जावेदा खातुन जागाले निर्वाचनका बेला नेताहरुले मतदातासमक्ष गरेका वाचा र प्रतिबद्धता पूरा गर्नु प्रत्येक सांसदको कर्तव्य र दायित्व भएको बताउनुभएको छ । सांसदसँग रासस संवादमा उहाँले चुनाव प्रसारप्रसारका समयमा जनतालाई दिएका आश्वासन, सेवासुविधा र विकास निर्माणको ‘एजेण्डा’ बोकेर गएको सांसद मन्त्रालय मन्त्रालयमा भेटिनुलाई अन्यथा लिन नहुने धारणा राख्नुभयो ।

नेत्री खातुनले विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न नसके तापनि सडक र खेल मैदानका लागि आफूले गरेको प्रयासको मतदाताले प्रशंसा नै गरेको प्रतिक्रिया दिनुभयो ।

मतदाताले कानुन निर्माणमा कति प्रगति भयो तथा बाँकी के–कति कारणले हुन सकेन भनी प्रश्न गरेको घटना सुनाउँदै सांसद खातुनले विषयगत समिति गठनमा भएको ढिलाइ, सदन अवरुद्ध र दलीय सङ्ख्यात्मक संरचनाले तीव्ररुपमा कानुन निर्माणमा चुनौती खडा गरेको बताउनुभयो ।

हिउँदे र बर्खे अधिवेशन सकिँदासम्म जति कानुन निर्माण गर्नुपर्ने हो त्यो नभएकामा आलोचना भइरहेको बताउँदै उहाँले जनताका आवाज र कानुन निर्माणलाई सबै राजनीतिक दलले साझा एजेण्डा बनाउनपर्ने विचार प्रकट गर्नुभयो ।

सांसद खातुनले भन्नुभयो, “स्वार्थको राजनीतिक कारण एकअर्काको अस्थित्व र उपस्थितिलाई अस्वीकार गर्ने, हस्तक्षेप गर्ने, सरकार फेरबदल भइरहने, विधेयकमाथि पनि आआफ्नो स्वार्थ रहने परिस्थितिले कानुन तर्जुमालाई तीव्रता दिन चुनौती खडा भएको छ ।”

नेत्री खातुलनले सदनमा मर्यादापूर्व प्रस्तुत हुने, सोच विचार गरी वक्तव्य दिने र अनुशासनमा रही गौरव गर्न लायक अगुवा हुनपर्नेमा सस्तो लोकप्रियताका लागि नियमापत्ति गर्ने, आरोपप्रत्यारोप मात्र नभई सभामै कपडा खोल्नेजस्ता कार्य सुहाउँदो विषय नभएकोे टिप्पणी गर्नुभयो । जनप्रतिनिधि हुनुका नाताले सांसदले जनताको आशा र भरोसा कायम राख्न जरुरी भएको बताउदै कांग्रेस केन्द्रीय सदस्य खातुनले विकास निर्माण, डुबान, नदी कटानका अतिरिक्त बर्दियामा मानव र वन्यजन्तुबीचको द्वन्द्व प्रमुख समस्या रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विकास निर्माण त गर्दै गरौँला सबैभन्दा पहिला मानिस बाँच्न प¥यो । जल्दाबल्दो समस्या त्यही हो । बाढी पनि समस्याकैरुपमा छ । पुल आवश्यक छ ।”

खर्चिलो निर्वाचन प्रणालीले पनि सुशासन कायम गर्न र भ्रष्टाचार निवारणका लागि चुनौती खडा गरेको विचार प्रकट गर्दै सांसद खातुनले चुनावमा गरेको खर्च उठाउने प्रवृत्तिले पनि त्यसमा मलजल पु¥याएको धारणा राख्नुभयो ।

हालको मिश्रित निर्वाचनको साटो समानुपातिक निर्वाचन प्रणाली मात्र कायम गरिए खर्चका हिसाबले निकै किफायत हुने व्यक्तिगत धारणा रहेको बताउँदै उहाँले यसमा दलका शीर्ष नेताहरुले समयमै ध्यान पु¥याउन आवश्यक रहेको सुझाव दिनुभयो ।

विचारमा बलियो र निष्ठावान् भए पनि पैसा नहुने नेता तथा कार्यकर्ताले अवसर नै प्राप्त गर्न कठिन रहेको उदाहरण प्रस्तुत गर्दै नेत्री जागाले गरिब र जनताको सेवामा समर्पित व्यक्ति अघि बढ्न नसक्ने अवस्था सिर्जना भएको बताउनुभयो ।

मुलुकको शिक्षा क्षेत्र र उद्योगधन्दा पर्वर्दनमा राज्यले लगानी बढाएर गुणस्तरीय शिक्षा र रोजगारी सिर्जना गर्न आवश्यक रहेको जनाउँदै उहाँले देशभित्रै स्वरोजगार मुखी सबैखाले विषयमा गुणस्तरीय शिक्षा प्रदान गर्न जरुरी रहेको विचार व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभा महिला, बालबालिका तथा समाजकल्याण समिति सदस्यसमेत रहनुभएकी सांसद खातुनले बर्दिया सबैखाले समुदायबीच हार्दिकता र सामाजिक सद्भाव कायम गरेको नमुना जिल्लाका रुपमा स्थापित रहेको विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “सबै समुदायबीच धार्मिक, सामाजिक, भाषिक र सांस्कृतिक सद्भाव कायम छ, एक अर्काको धर्म, संस्कृति र चाडपर्वलाई सम्मान गर्दै सबै समुदायको चाडपर्वमा सबै सहभागी हुने शुभकामना आदानप्रदान गरी भाइचाराको सम्बन्ध कायम गरेका छौँ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ