एमाले गण्डकीको अध्यक्षमा म्याग्दीका नवराज शर्मा विजयी बनेका छन् । लमजुङका मायानाथ अधिकारीलाई १६६ मतले पछाडि पार्दै प्रदेशको प्रथम अधिवेशनबाट उनी अध्यक्ष चयन भएका हुन् । नवराजले ५३१ मत पाउँदा मायानाथको पक्षमा ३५५ मत खस्यो ।
एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको समर्थन शर्मालाई रहेको थियो । उपाध्यक्षसहित सबै पदाधिकारीमा पनि उनीपक्षीय उम्मेदवार विजयी भएका छन् । उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ १९२ मतले विजयी बन्दा नवलपुरका बाबुराम विकले ३४२ मत प्राप्त गरी पराजय बेहोरे । मीनले ५३४ मत ल्याएका थिए । सचिवमा नवराजपक्षीय लमजुङका धनञ्जय दवाडी ५२० मतसहित विजयी भए। कास्कीका रश्मि आचार्यको पक्षमा ३६६ मत आयो ।
महिला उपसचिवमा पर्वतका मञ्जु अधिकारी ५३१ मतसहित विजयी बनिन् । उनकी प्रतिस्पर्धी कास्कीकी मीना गुरुङले ३६५ मतमा चित्त बुझाइन् ।
कास्कीका दामबहादुर विक र म्याग्दीका सन्तोष रावलबीच अर्को उपसचिवमा भएको भिडन्तमा १५३ ले बाजी मारे ।
एमालेका सबै जसो प्रदेशमा निर्वाचन मार्फत नेतृत्व चयन भएको छ । अध्यक्ष केपी ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिए पनि प्रदेश कमिटिहरुको चयन निर्वाचन मार्फत हुँदै आएको छ ।