प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि आक्रमण गर्न खोज्नेलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै संसदमा आक्रोश पोखेका छन् । ‘राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहिष्णुताका आधारस्तम्भहरू खलबल्याउन सरकार नियोजित रूपमा लागेको देखिन्छ,’ उनले भने, ‘सरकार आफैं यस्ता घटनाको आयोजना पनि गरिरहेको छ। यो सरकार गठबन्धन बाहेक अन्य दलको अस्तित्व स्वीकार गर्दैन। प्रमुख प्रतिपक्षी दलको नेतामाथि ज्यान लिन सांघातिक हमला गराउछ। हमलाकारीलाई कानुनको दायरामा ल्याउँदैन।’
उनले आफ्नो ज्यान मार्न खोज्नेलाई सरकारले नसमाएको पनि बताए। केही समय अघि प्रदेश १ मा जाँदा पहिचानवादीले झापा सहित विभिन्न जिल्लामा ढुंगामुडा प्रहार गरेका थिए ।
उनले सत्तारुढ दलकै कार्यकर्ताहरु आफूमाथि आक्रमणमा संलग्न रहेको जिकिर गरेका छन् । उता उनले भ्रष्टाचारका फायल खोलेर अधुरो पारेको भन्दै गठबन्धन जोगाउन ललिता निवास प्रकरणलाई कमजोर पारिएको जिकिर गरे । ओलीले प्रधानमन्त्री प्रचण्ड शान्ति प्रक्रियाको टुंगो लगाउन छाडेर युद्ध प्रक्रियाको सुरुवात गर्न लागिरहेको आरोप लगाएका छन् ।
‘हिंसा सुरु गरेको दिनलाई राष्ट्रिय उत्सवका रुपमा घोषणा गर्नुभयो’, ओलीले भने, ‘भोज खाऊ, नाँचगान गर,वाजा बजाऊ, नाँच, त्यसका लागि छुट्टी, राष्ट्रिय बिदा घोषणा गर्नुभयो ।’ उनले यो बिदा घोषणा नमानिने भन्दै गत फागुन १ बाट माघ अन्तिम दिनमा एमालेको विरोधका बाबजुद फागुन १ लाई बिदा घोषणा गरेर प्रतिपक्षको कुरा नसुनिएको बताए ।
साथै उनले पूर्व राष्ट्रपतिको हालत के छ ? भन्दै तातोपानी खानुभएको छ कि के खानु भएको छ ? भनेर सरकारलाई प्रश्न गरे । उनले गृहमन्त्रीले सुसासन अभियान बिरुद्ध संगठित रुपमा प्रहार भईरहेको भन्ने अभिव्यक्तिको पनि प्रहार गरे ।