काठमाडौँ, १६ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभामा सहभागिता र जनवादी गणतन्त्र चीन भ्रमणका बारेमा पार्टीलाई ‘ब्रिफिङ’ गरेका छन् । आज बसेको पार्टी पदाधिकारी बैठकमा प्रचण्डले महासभामा सहभागिताबाट विश्व समुदायले नेपाललाई नजिकबाट चिन्ने वातावरण बनेको बताए ।
प्रधानमन्त्री प्रचण्डले चीनसँग भएका सम्झौता तथा समझदारी नेपालको विकासमा दूरगामी महत्वको भएको बताएका थिए । “संयुक्त राष्ट्र सङ्घको महासभामा विश्वसमुदायले नेपाललाई नजिकबाट चिन्ने गरी नेपालको प्रस्तुति भएको छ”, प्रधानमन्त्री प्रचण्डको भनाइ उदृत गर्दै प्रवक्ता अग्नी प्रसाद सापकोटाले ,संयुक्त राष्ट्र सङ्घका महासचिवसँगको भेट तथा महासभाका क्रममा भएका ‘साइडलाइन’ वार्ता महत्वपूर्ण रहेको बताए ।
प्रधानमन्त्री दाहालले राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच सहकार्य तथा अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्ने, कृषि, विज्ञान प्रविधिलगायत क्षेत्रको विकासका लागि दुई देशबीच भएको सहमति दूरगामी महत्वका रहेको प्रधानमन्त्रीले ब्याख्या गरेका थिए ।
बैठकमा माओवादीले गत भदौ १६ गतेदेखि चलाएको रुपान्तरण अभियानका बारेमा समिक्षा भएको थियो । बैठकले अभियानलाई प्रभावकारी बनाउने, चाडपर्वको समयमा पनि विविध कार्यक्रम गरी जनताको घरदैलोमा पुग्न नेता कार्यकर्तालाई दिशानिर्देश गरेक छन् ।
प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दैै गत भदौ ३० गते संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्क प्रस्थान गरेका थिए । उनी न्यूयोर्कबाट सिधैँ चीन भ्रमणमा गएका थिए । चीनमा असोज ६ देखि १३ गते सम्म साता व्यापी भ्रमण प्रधानमन्त्रीले गरेका थिए ।