काठमाडौँ, १३ असोज । नेकपा एमालेको प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनले अध्यक्ष पदमा कैलाश ढुङ्गेल निर्वाचित भएका छन्। ढुंगेलको पक्षमा पार्टी अध्यक्ष केपी ओलीले नै माहौल बनाएको स्रोतको भनाई छ । ओली निकट महेश बस्नेतहरु फिल्डमै खटेर ढुंगेल जिताउन लागि परेका थिए । ओलीले सके सम्म सर्वसम्मत रुपमा ढुंगेललाई अध्यक्ष बनाउन चाहेका थिए । तर दाहाल कार्यकर्ताको रोजाईमा पर्ने गरेका कारण चुनाव हुने स्थिति बन्यो ।
संस्थापन पक्ष नै ढुंगेलको पक्षमा लागेपछि दाहाल निराश बन्न पुगेका छन् । दाहाल भने गत निर्वाचनमा पनि पार्टीले टिकट खोसेको थियो भने अहिले पनि नेतृत्वमा पुग्न असफल रहे ।
गए राति सार्वजनिक मत परिणामअनुसार रामेछापका ढुङ्गेलले छ सय ९६ र प्रतिस्पर्धी मकवानपुरका कृष्णप्रसाद दाहालले चार सय ३९ मत प्राप्त गरे । निर्वाचनमा उपाध्यक्षमा दावा दोर्जे लामा, सचिवमा नवराज सिलवाल, उपसचिवमा प्रेमकुमार महर्जन र भक्तकुमारी लामा निवाचित भए ।
एमाले पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा अन्तिम मत परिणाम सार्वजनिक भएपछि पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले विजयीलाई बधाई दिए । अधिवेशनमा कूल प्रतिनिधि एक हजार एक सय ७२ रहेकामा एक हजार एक सय ३१ ले मतदानमा भाग लिएका थिए ।